हातेमाला वुमन्स ग्रुप अफ फाउण्डेशनद्वारा गोरखाका २६६ जना बालबालिकालाई न्यानो कपडा वितरण

राम्रो अनलाइन     १२ मंसिर २०८३, शनिबार
हातेमाला वुमन्स ग्रुप अफ फाउण्डेशनद्वारा गोरखाका २६६ जना बालबालिकालाई न्यानो कपडा वितरण

गोरखा–हातेमालो वुमन्स ग्रुप अफ फाउण्डेशन र हिमालय फ्रेण्ड जर्मनीले संयुक्त रूपमा गोरखाका सिरानचोक एवं अजिरकोट गाउँपालिकाका सामूदायीक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई न्यानो कपडा (ट्र्याक सुट), टिर्सट तथा शैक्षिक सामग्री वितरण गरिएको छ ।

फाउण्डेशनद्वारा आयोजित कार्यक्रममा सिरानचोक–८ स्थित परोपकार आदर्श माध्यमिक विद्यालय, सत्यवती प्राथमिक विद्यालय, फिनाम आधरभूत विद्यालय र अजिरकोट गाविसको चन्द्रकला प्राथमिक विद्यालयमा छुट्टा–छुट्टै कार्यक्रम आयोजना गरी २ सय ६६ जना बालबालिकाहरूलाई  न्यानो कपाडा वितरण गरिएको हो । 

फाउण्डेशनका अध्यक्ष राधा सापकोटा ढकाल, कार्यकारी सदस्य अनिशा अधिकारी, सिरानचोक–८ का वडा अध्यक्ष दलमान गुरुङ, परोपकार आदर्श माध्यममिक विद्यालयका प्रधानाध्यापक हरिशचन्द्र दवाडीले संयुक्त रूपमा विद्यार्थीहरूलाई न्यानो कपडा वितरण गर्नुभएको थियो ।

न्यानो कपडा वितरण गर्न आयोजित कार्यक्रमा फाउण्डेशनका अध्यक्ष ढकालले आजका विद्यार्थी एवं बालबालिकालाई गरिएका लगानीले भविष्यमा समाज र देशको मुहार फेरिने भएकाले आफूहरूले बालबालिका क्षेत्रमा सहयोग पुर्‍याउँदै आएको बताउनुभयो । 

विद्यार्थी भाइबहिनीहरूलाई वितरण गरिएको न्यानो कपडा एवं शैक्षिक सामग्रीले उनीहरूको आत्मविश्वास वृद्धि हुने र सिकाई प्रक्रियामा सुधार हुने अपेक्षा आफूले गरेको अध्यक्ष ढकाले बताउनुभयो । 

सिरानचोक–८ का वडा अध्यक्ष एवं विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दलमान गुरुङले संस्थाका तर्फबाट विद्यार्थीका लागि न्यानो कपडा वितरण गरिएकोमा धन्यवाद व्यक्त गर्दै कक्षा सात सम्मका द्यिार्थीका लागि लागू गरिएको कार्यक्रम कक्षा १२ सम्म पुर्‍याई दिन आग्रह गर्नुभयो । 

विद्यालय स्तरको शिक्षा स्थानीय तहको अधिकार भित्र पर्ने तर अझैपनि पर्याप्त स्रोत साधनको अभावमा विद्यार्थीको आवश्यकता र सिकाई प्रक्रियामा थप कार्यक्रम लागू गर्न कठिनाई भइरहेको उल्लेख गर्दै वडाअध्यक्ष गुरुङले सामाजिक संघसंस्थाका तर्फबाट गरिने यसप्रकारका सहयोगले विद्यार्थीहरूलाई हौसला र आत्मविश्वास बढ्ने बताउनुभयो । 

परोपकार आदर्श माध्यमिक विद्यालयका प्रधानाध्यापक हरिशचन्द्र दवाडीले फाउण्डेशनका तर्फबाट विद्यार्थी भाइबहिनीहरूलाई उपलब्ध गराई न्यानो कपडालाई सहयोगका रूपमाभन्दा पनि आफूले पूण्य तथा प्रेरणादायी कार्यका रूपमा लिएको बताउनुभयो । 

बालबालिकाको सिकाई प्रक्रियामा समाजका हरेक तहबाट साथ र सहयोग उपलब्ध हुन सकेमामात्र दक्ष एवं आत्म निर्भर नागरिक तयार हुने भएकाले विद्यालयलाई आवश्यक रहेको क्षेत्रमा यसप्रकारका संघसंस्थाले सहयोग गर्दा ठूलो मद्दत पुग्ने उहाँले बताउनुभयो । 

यसैगरी अजिरकोट–४ सिम्जुङको चन्द्रकला आधारभूत विद्यालयमा न्यानो कपडा वितरण गर्न आयोजित कार्यक्रममा वडा अध्यक्ष जंगबहादुर गुरुङले देश संघीय प्रणालीमा गईसकेपछि माध्यमिक तहसम्मको शिक्षा स्थानीय सरकार अन्तर्गत रहेपनि संघ सरकारले अझै पनि स्वायत्त तरिकारले काम गर्न नदिएको गुनासो व्यक्त गर्नुभयो । 

पहुँचयुक्त विद्यालयमा निःशुल्क शिक्षा हासिल गर्न पाउनु बालबालिकाको मौलिक हक रहेको उल्लेख गर्दै विद्यार्थी संख्या कम भएको भन्दै पर्याप्त गृहकार्य बिना विद्यालयहरू मर्च गर्न नहुने उहाँले बताउनुभयो । 

फाउण्डेशनका तर्फबाट उपलब्ध गराइएको न्यानो कपडा विद्यार्थी भाइबहिनी र विद्यालयका लागि महत्वपूर्ण सहयोग रहेको उहाँले बताउनुभयो । सो अवसरमा स्थानीय समाजसेवी चन्द्रबहादुर गुरुङले रु. १ लाख सहयोग गर्नुभएको थियो । 

 

 

प्रतिक्रिया