गण्डकी, २२ वैशाख : गण्डकी प्रदेशका नवनियुक्त प्रदेश प्रमुख सीताकुमारी पौडेलले आज पदभार ग्रहण गरेकी छिन् । प्रदेशको राजधानी पोखरास्थित प्रदेश प्रमुखको कार्यालयमा पदभार ग्रहण गर्दै प्रदेश प्रमुख पौडेलले प्रदेशको अभिभावकका रूपमा रही ऐन, नियम र कानूनको परिधिलाई ध्यानमा राखेर हरेक परिस्थितिमा सहजीकरण गरी अभिभावकीय जिम्मेवारी पूरा गर्ने बताइन् ।
प्रदेशमा देखिएका समस्या समाधानका लागि नियमकानूनअनुसार स्वतन्त्र र निष्पक्ष ढंगले समन्वय र सहजीकरण गरेर अघि बढ्ने बताउँदै उनले यसका लागि सबैको साथ र सहयोग आवश्यक पर्ने बताइन् ।
पदभार ग्रहण कार्यक्रममा प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङ, उपसभामुख सिर्जना शर्मा, प्रदेश सरकारका उच्चपदस्थ अधिकारी, सुरक्षा निकायका प्रमुख, प्रमुख जिल्ला अधिकारीलगायतको उपस्थिति थियो । सो अवसरमा प्रदेश प्रमुख पौडेललाई नेपाली सेनाको एक टुकडीले सलामी अर्पण गरेको थियो । सङ्घीय सरकारका सिफारिशमा राष्ट्रपतिबाट यही वैशाख २० गते प्रदेश प्रमुखको शपथ ग्रहण गरेकी पौडेल मंगलबार पोखरा आएकी थिइन् ।