काठमाडौं । गण्डकी र लुम्बिनी प्रदेश सरकार परिवर्तन हुने भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओली र एमालेको ओली समूहका नेताहरु गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली र लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेललाई हटाएर नयाँ सरकार बनाउन नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टीबीच सहमति बनेको हो ।
गण्डकीमा कांग्रेस र लुम्बिनीमा माओवादीले मुख्यमन्त्री लिने सहमति बनेको छ । प्रधानमन्त्री केपी ओलीको विकल्पमा नयाँ सत्ता समीकरणको कसरत गरिरहेका दलहरूले गण्डकी प्रदेशबाट नयाँ गठबन्धनको थालनी थालेका हुन् ।
गण्डकी प्रदेश सभामा तीनजना मात्रै सांसद भए पनि निर्णायक भूमिकामा रहेकोे राष्ट्रिय जनमोर्चा मुख्यमन्त्री गुरुङविरुद्ध अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्न बुधबार तयार भएपछि नयाँ सरकार गठनको बाटो खुलेको हो ।
प्रधानमन्त्री ओलीनिकट मुख्यमन्त्री गुरुङविरुद्ध प्रमुख प्रतिपक्षी कांग्रेसको नेतृत्वमा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले संयुक्त गठबन्धन गर्दै अविश्वासको प्रस्ताव लैजाने तयारी गरेका छन् । अविश्वासको प्रस्ताव दर्ताका लागि कांग्रेस, माओवादी र जसपाले सहमति गरिसकेका छन् ।
गण्डकी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेसले संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलको नाम अघि सारेको छ । कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मंगलबार साँझ भएको भेटमा गण्डकीमा कांग्रेस र लुम्बिनीमा माओवादीबाट मुख्यमन्त्री बनाउने सहमति गरेका छन ।
कांग्रेसले मुख्यमन्त्रीका रूपमा दलका नेता नेपालीलाई सर्वसम्मत रूपमा अघि सारेको सांसद विष्णु लामिछानेले बताए । नवलपुर १ (क)बाट निर्वाचित नेपाली वरिष्ठ नेता रामचन्द्र पौडेलनिकट मानिन्छन् ।
अविश्वासको प्रस्तावका लागि कांग्रेसले आफ्ना १५ सांसदको हस्ताक्षर जम्मा गरिसकेको छ । माओवादी केन्द्रले पनि संकलन गरेको छ । गण्डकी प्रदेश सभामा एमालेका २८, कांग्रेसका १५, माओवादीका १२, जनमोर्चाका तीन, जनता समाजवादीका दुई गरी ६० सांसद छन । बहुमतका लागि ३१ सांसद चाहिन्छ भने कांग्रेस, माओवादी, जनमोर्चा र जसपासँग ३२ सांसद छन ।
कांग्रेस र माओवादी केन्द्रले लुम्बिनी प्रदेशमा पनि वैकल्पिक सरकार बनाउने कसरत गरिरहेका छन । लुम्बिनीमा मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव लैजाने प्रक्रिया निकै अघि बढिसकेको छ । ८७ सांसद रहेको लुम्बिनी प्रदेश सभामा एमालेका मात्रै ४१ सांसद छन । माओवादी केन्द्रका २०, कांग्रेसका १९, जसपा ६ र राष्ट्रिय जनमोर्चाका एक सांसद छन् ।
माओवादी केन्द्रले कांग्रेस, जसपा र राजमोको समर्थनमा पोखरेललाई हटाएर कुलप्रसाद केसीलाई मुख्यमन्त्री बनाउने कसरत गरिरहेको छ । माओवादीले संसदीय दलका नेता केसीलाई मुख्यमन्त्रीमा अघि सारेको छ । उनी पोखरेल नेतृत्वको सरकारमा आन्तरिक मामिला तथा कानुन मन्त्री थिए ।