ग्लोबल आईएमई बैंकका अध्यक्ष ढकालले लिए पद तथा गोपनीयताको शपथ

राम्रो अनलाइन     ०२ पुस २०८०, सोमबार
ग्लोबल आईएमई बैंकका अध्यक्ष ढकालले लिए पद तथा गोपनीयताको शपथ


काठमाडौं– ग्लोबल आईएमई बैंक लिमिटेडका अध्यक्ष चन्द्रप्रसाद ढकालले पद तथा गोपनीयताको शपथ लिएका छन् ।ढकाललाई आइतबार नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शपथ खुवाएका हुन् ।

नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्ष समेत रहेका ढकाल बैंकको हालै सम्पन्न १७औं वार्षिक साधारणसभाबाट सञ्चालक समिति सदस्य र नव निर्वाचित सञ्चालक समितिको पहिलो बैठकबाट अध्यक्षमा सर्वसम्मत निर्वाचित भएका थिए ।

सपथ ग्रहण समारोहमा अध्यक्ष ढकालले रेमिट्यान्स सेवा प्रदान गर्ने सानो कम्पनीको रुपमा स्थापना गरेको आईएमई नै नेपाल सरकार र नेपाल राष्ट्र बैंकको नीतिरनिर्देशन अनुसार काम गर्दै जाँदा आजको ग्लोबल आईएमई बैंकको अवस्थासम्म आइपुगेको स्मरण गर्दै ग्लोबल आईएमई बैंक मुलुकको सबैभन्दा ठूलो बैंक मात्र नभई एक सबल र सक्षम बैंक बन्न सफल भएको बताए ।

ग्लोबल आईएमई बैंकलाई अहिलेको अवस्थासम्म पुर्‍याउन नेपाल राष्ट्र बैंक र यसको नेतृत्वले पुर्‍याएको सहयोगको विशेष स्मरण गर्दै उनले बैंकिङ क्षेत्रलाई थप विस्तार गर्न भविष्यमा पनि यस किसिमको सहयोग आवश्यक रहने बताए ।

ढकालले नेपाली बैंकहरुले बदलिँदो विश्व परिस्थितिअनुसार आफूलाई डिजिटल र प्रविधिमैत्री बनाउन आवश्यक हुने बताउँदै आफ्नो कार्यकालमा ग्लोबल आईएमई बैंकलाई थप सबल र उत्कृष्ट बनाउन आफूले पहल गर्ने प्रतिबद्धतासमेत व्यक्त गरे । नेपाल राष्ट्र बैंकको गभर्नरबाट पद तथा गोपनीयताको शपथ लिएपछि ढकालले नवनिर्वाचित सञ्चालकहरुलाई आजै शपथ गराएका छन् ।

ग्लोबल आइएमई बैंकको १७औं वार्षिक साधारण सभाबाट संस्थापक शेयरधनीहरुमध्येबाट ढकाल, रामबहादुर भण्डारी र राधेश पन्त, तथा सर्वसाधारण शेयरधनीतर्फबाट कृष्णप्रसाद शर्मा, नारायण प्रसाद पौडेल र मदनलाल जोशी सञ्चालक समितिमा सर्वसम्मत निर्वाचित भएका थिए ।

प्रतिक्रिया