काठमाडौं । नेकपा माओवादी केन्द्रले गृहमन्त्रीसमेत रहेका राष्ट्रिय सभा सदस्य रामबहादुर थापालाई कारबाही गरेको छ । उनीसँगै चन्द्रबहादुर खड्कालाई कारबाही गरेको सूचना माओवादीले संसद् सचिवालयमा दिएको छ ।
नेकपा एमाले प्रवेश गरेका थापा र खड्काले दल त्याग गरेको सूचना संसद् सचिवालयमा पठाएको हो । माओवादी केन्द्रको स्थायी समिति बैठकको निर्णयअनुसार दल त्याग गरेको सूचना संसद् सचिवालयलाई दिइएको हो ।
माओवादीले सोमबार आफ्ना चार जना प्रतिनिधि सभा सदस्यले दल त्याग गरेको सूचना संसद् सचिवाललाई दिएको थियो । वर्तमान सरकारमा मन्त्री समेत रहेका लेखराज भट्ट कैलाली ४, टोपबहादुर रायमाझी अर्घाखाँची १ प्रभु साह रौतहट ३ र गौरी शंकर चौधरी कैलाली३ ले दल त्याग गरेको पत्र सचिवालयलाई दिएको थियो ।
सोही पत्रको आधारमा सभामुख अग्निप्रसाद सापकोटाले बिहीबार बसेको प्रतिनिधि सभा बैठकमा माओवादी केन्द्रले पठाएको पत्रको आधारमा चार सांसद पदमुक्त भएको जानकारी गराएका थिए । राजनीतिक दलसम्बन्धी ऐनअनुसार दल परित्याग गरेका सांसद पदमुक्त हुने व्यवस्था छ ।