काठमाडौँ–एनसेलको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा माइकल फोले नियुक्त भएका छन् । आगामी कात्तिक १५ गतेदेखि लागू हुनेगरी उनी नियुक्त भएको एनसेलले जनाएको छ ।
नयाँ सिइओ आएसँगै कार्यवाहक सिइओ सैयद इनामुल कबीरले कम्पनीको प्रमुख वित्तीय अधिकृत (सिएफओ) को आफ्नो महत्त्वपूर्ण भूमिकालाई निरन्तरता दिनेछन्।
फोलेसँग दुई दशकभन्दा बढी समय दूरसञ्चार क्षेत्रमा वरिष्ठ नेतृत्वको अनुभव छ । एनसेलमा आबद्ध हुनुअघि, फोलेले एयरटेलमा फ्रेन्च अफ्रिकाका प्रमुखको रूपमा कार्यरत रहँदै सातवटा फ्राङ्कोफोन अफ्रिकी बजारहरूको सञ्चालन जिम्मेवारी वहन गरेका थिए। त्यसअघि, उनले टेलिनोर पाकिस्तान (टीपी) का सिइओका रूपमा कार्य गर्दै कठिन व्यावसायिक परिस्थितिमा पनि कम्पनीलाई अगाडि बढाउँदै बजारमा अग्रणी वृद्धि, नाफा र कर्मचारी संलग्नताका साथ उल्लेखनीय सफलता हासिल गरेका थिए।
नियुक्तिपछि फोलेले भने, “काठमाडौँमा एनसेलको यो जिम्मेवारी लिन पाउँदा म अत्यन्त खुसी र सम्मानित महसुस गरिरहेको छु । एनसेल, देशका लागि महत्त्वपूर्ण पूर्वाधार हो, जसले नेपाली जनताका लागि नयाँ अवसरहरू सृजना गर्दै, डिजिटल रूपान्तरणलाई अघि बढाउने, आर्थिक प्रतिस्पर्धात्मकता बढाउने र विदेशी लगानी आकर्षित गर्ने अपार सम्भावना बोकेको छ । आजको डिजिटल, एआई पावर्ड र सामाजिक सञ्जालको युगमा, दूरसञ्चार कम्पनीहरू केवल सेवा प्रदायकमात्र होइनौँ, हामी समाजको डिजिटल संरचना बुन्ने भूमिका निभाइरहेका छौँ । हामी आधुनिक अर्थतन्त्रको सञ्चालन प्रणाली बनिसकेका छौँ । यसैले, राष्ट्रको सेवा गर्न, हाम्रा सेवाहरू सुदृढ बनाउन र सबैभन्दा महत्त्वपूर्ण रूपमा आगामी पुस्तालाई सशक्त बनाउनका लागि यी महत्त्वपूर्ण सम्पत्तिहरूलाई जिम्मेवारीपूर्वक व्यवस्थापन गर्नु अत्यावश्यक छ ।”
एनसेलले जारी विज्ञप्तिमा भनिएको छ, “हामी यस महत्त्वपूर्ण नेतृत्व भूमिकामा फोलेलाई एनसेलमा स्वागत गर्न पाउँदा अत्यन्त खुसी छौँ । उहाँको विस्तृत अनुभव र रणनीतिक दृष्टिकोण, एनसेलको रूपान्तरणलाई मार्गदर्शन गर्न र हाम्रा समुदायहरूलाई निरन्तर सेवा गर्ने प्रतिबद्धतालाई बलियो बनाउन महत्त्वपूर्ण हुनेछन् ।”
फोल म्याकगिल विश्वविद्यालयका स्नातक हुन् र इनसीडबाट उनले ग्लोबल म्यानेजमेन्ट एन्ड गभर्नेन्समा एक्सिक्युटिभ सर्टिफिकेटस् प्राप्त गरेका छन्। उनी क्यानडा–केन्या दुवै देशका नागरिक हुन्।