एमालेले माग्यो उपसभामुख रानाको राजीनामा, माओवादी र रास्वपा प्रतिरक्षामा 

राम्रो अनलाइन     २५ भदौ २०८१, मङ्गलबार
एमालेले माग्यो उपसभामुख रानाको राजीनामा, माओवादी र रास्वपा प्रतिरक्षामा 

 

काठमाडौं – नेकपा एमालेले उपसभामुख इन्दिरा राना मगरको राजीनामा माग गरेको छ। मंगलबार प्रतिनिधि सभाको बैठकमा सांसद सूर्य प्रसाद ढकालले सदनभित्र र र सदन बाहिर उपसभामुखको विषय उठेकाले राजीनामा दिनुपर्ने माग गरेका हुन् ।

‘नैतिकताको कुरा उठेको छ । पदीय मर्यादा र मानव तस्करीको कुरा उठेको छ‚’ उनले भने‚‘ उपसभामुखले राजीनामा दिन माग गर्दछु ।’

यस्तै अर्का सांसद गोकुल बास्कोटाले विशेष समयमा बोल्दै लोकतन्त्रमा प्रश्न उठाउन पाइने भन्दै नैतिकताको कसीमा जाँच्ने अवसर पनि आएको बताए ।

‘मेरो सुझाव छ उपसभामुखलाई यत्रो कुरा उठेको छ । ममाथि पनि प्रश्न उठेपछि मैले पदबाट राजीनामा दिएको थिएँ,’ उनले भने‚ ‘यति आँट र साहस हुनुपर्छ । यत्रो प्रश्न उठेको छ भने उहाँले पदबाट मार्ग प्रशस्त गर्नुपर्छ । बाँकी  कुरा कानुनले गर्ला । त्यति गर्न मेरो सुझाव छ ।’

यसैगरी नेकपा माओवादी केन्द्रले इन्दिरा रानालाई उपसभामुखबाट हटाउने माग विरोध गरेको छ । मंगलबार प्रतिनिधि सभाको बैठकमा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले रानालाई उपसभामुखबाट हटाउने तयारीप्रति पार्टीको विरोध रहेको बताए ।

‘माननीय इन्दिरा रानालाई हटाउने कुरा आजका मिडियामा आएको छ । यदि यो सत्य हो भने हाम्रो दल त्यसरी हटाउने कुराको तिव्र प्रतिवाद गर्दछ, विरोध गर्दछ’ उनले भने । यो विषयमा स्पष्ट गर्न सत्तारुढ दलहरूलाई उनको आग्रह छ ।

प्रतिक्रिया