काठमाडौं – अमेरिकासँगको बढ्दो तनावबीच भारत र चीनबीचको सम्बन्धमा एउटा नयाँ र सकारात्मक अध्याय सुरु भएको छ । एयर इन्डियाले आइतबारदेखि दिल्ली र संघाईबीच सिधा हवाई उडान सेवा पुनः सुरु गरेको छ । करिब ६ वर्षको लामो अन्तरालपछि यी दुई सहरबीचको हवाई सम्पर्क पुनर्स्थापित भएको हो ।
संघाईस्थित भारतीय महावाणिज्य दूतावासले जारी गरेको विज्ञप्तिअनुसार, नयाँ दिल्लीबाट संघाईको पुडोङ अन्तर्राष्ट्रिय विमानस्थलका निम्ति बोइङ ७८७ ड्रिमलाइनर विमानले उडान भरेको थियो । उक्त पहिलो उडानमा २३० भन्दा बढी यात्री सवार थिए । एयर इन्डियाको यो सेवालाई भारत र चीनबीचको द्विपक्षीय हवाई सम्पर्कलाई सामान्यीकरण गर्ने दिशामा एउटा महत्त्वपूर्ण कदम मानिएको छ ।
सन् २०२० देखि निलम्बित थियो सेवा
कोभिड–१९ महामारीका कारण सन् २०२० को सुरुआतमै भारत र चीनबीचका सबै उडान सेवा निलम्बन गरिएको थियो । त्यसपछि पूर्वी लद्दाखमा उत्पन्न सैन्य गतिरोध र सीमा विवादका कारण चार वर्षभन्दा बढी समयसम्म यो सेवा सुचारु हुन सकेको थिएन । संघाईमा यात्रीलाई बिदाइ गर्न पुगेका भारतीय महावाणिज्यदूत प्रतीक माथुरले सिधा उडान सेवाको स्वागत गरे । उनले यसलाई दुई देशबीचको जनस्तरको सम्पर्क, व्यापार, पर्यटन र संस्थागत सम्बन्ध सुदृढ बनाउने दिशामा एउटा ठूलो र सकारात्मक कदम भने ।
आर्थिक र सांस्कृतिक सम्बन्ध मजबुत हुने अपेक्षा
यो सेवा पुनः सुचारु भएसँगै दुई छिमेकी मुलुकबीच आर्थिक, सांस्कृतिक र व्यावसायिक आदानप्रदानमा तीव्रता आउने अपेक्षा गरिएको छ । यसले संघाई र दिल्लीबीचको यात्रालाई सहज र सस्तो बनाउनुका साथै महामारी र सीमा विवादपछि उब्जिएको कूटनीतिक तनाव कम गर्न समेत सहयोग पुर्याउने विश्वास छ । एयर इन्डियाको यो पहललाई भारत–चीन सम्बन्ध बिस्तारै सामान्यीकरणतर्फ उन्मुख भइरहेको प्रक्रियाको एक हिस्साका रूपमा हेरिएको छ ।