‘धेरै सिन  एक टेकमै ओके हुन्थे’

जयन सुब्बा मानन्धर     २४ भदौ २०८०, आइतबार
‘धेरै सिन  एक टेकमै ओके हुन्थे’

 

अभिनेत्री गौरी मल्लले तीज विशेष गीत सार्वजनिक गरेकी छन्। मल्लको ‘धिन ताका नाका धिन’ बोलको गीतको भिडिओ सार्वजनिक गरिएको छ । गीतलाई दर्शक तथा स्रोताले मन पनि पराएका छन् । मल्लले वर्षौँ पहिले दर्जन भन्दा बढी गाएकी थिइन्। उनले चलचित्र ‘भाइ’मा नायिका मेलिना मानन्धरको लागि पार्श्व गायन समेत गरेकी थिइन्। यद्यपि उनले आफ्नो गायन करिअर भन्दा अभिनय करिअरलाई नै अगाडि बढाएकी थिइन्। सार्वजनिक तीज गीतमा शब्द, सङ्गीत र स्वर दिँदै उनी गायनमा फर्किएकी छन्। उनले आफ्नै नामबाट यूट्युब च्यानल समेत शुभारम्भ गरेकी छन्। गीतको भिडिओमा गौरी आफैंले अभिनय गरेकी छन्। गौरीसँगै अभिनेत्री मिथिला शर्माले पनि यसमा अभिनय गरेकी छन्। साथमा समाईरा श्रेष्ठ, तेन्जु योन्जन, निलम पौडेल, सिम्रन शेरचन लगायतको अभिनय रहेको छ। अभिनेत्री मल्लले आफ्नो कलाकारिताको अनुभव जयन सुब्बा मानन्धरसँग सेयर गरेकी छिन्ः 


‘सन्तान’ मेरो डेब्यू फिल्म हो । २०४३ सालमा त्यो फिल्म बनेको थियो । जसलाई प्रकाश थापाले निर्देशन गर्नुभएको थियो । फिल्ममा मैले करिश्मा मानन्धर, भुवन केसी, अर्जुन जंग शाही, उज्ज्वल घिमिरे, गणेश उप्रेतीलगायत कलाकारसँँग काम गर्ने अवसर पाएँ । नारायणघाट र पोखरामा यो फिल्म सुुट गरिएको थियो । सन्तान फिल्ममा मसँगै उज्ज्वल घिमिरे, गणेश उप्रेती, रोशन श्रेष्ठको पनि यो पहिलो फिल्म थियो । 

फिल्ममा मेरो भूमिका चलाख, ज्ञानी, आफ्नो बुबालाई धेरै माया गर्ने पढेलेखेको छोरीको थियो । पहिलो पटक क्यामेराअगाडि उभिँदा धेरै गाह्रो चाहिँ भएन । आफू स्क्रिनमा आउँदैछु, मासमा चिनिन्छु भन्ने उत्साह र उमंग थियो । क्यामेरा फेस गर्दा रमाइलै लाग्यो । 

 फिल्मको लागि नौलो भए पनि सुटिङ सेटमा सबैबाट राम्रै साथ र माया पाएँ । मेहनत गरेर डायलग कण्ठ पार्थें । मैले गरेका सिन प्रायः एकै टेकमा ओके हुन्थे । म गदगद हुन्थेँ । म ब्याकस्टेज आर्टिस्ट पनि थिएँ । मैले जीवनमा ‘हर्स राइडिङ’ गर्छु भन्ने कल्पना नै गरेकी थिइनँ । फिल्मकै लागि मैले घोडचढी गरेँ । घोडचढी सिक्दा सुुरुमा त साह्रै आत्तिएँ । तर, पछि  सिकी छाडेँ । क्यामेराअगाडि घोडचढी गर्दा असाध्यै रमाइलो लाग्थ्यो । म एकदमै खुशी हुन्थेँ । 

मलाई असहज महसुस भएको सिन भने रेप सिन थियो । यो सिन गर्न मनै थिएन । डर लागेको थियो । ‘निर्देशकले किन यो सिन मेरै रोलमा राखिदिनुुभयो होला’ भन्ने सोच्थेँ । फिल्म रिलिज भएपछि दर्शकबाट राम्रै प्रतिक्रिया पाएँ । म मेरो फिल्मी करिअरलाई गोल्डेन टाइमका रूपमा स्मरण गर्न चाहन्छु । 

म मेरो कर्मलाई अति नै सामान्य रूपमा लिन्छु । मैले आफूलाई कलाकारिता गरेर ‘सेलिब्रिटी’ भएको महशुस नै गरेको छैन । यो मेरो प्यासनको काम हो । कलाकारिता मेरो लागि साधना हो । जसमा म मनैदेखि लागिरहेको छु । 

प्राविधिक रूपमा नेपाली फिल्म क्षेत्रले जे जस्ता उपलब्धी हासिल गर्नुपर्ने हो त्यो क्रमशः हासिल गर्दै आइरहेको छ । तर, कालाकारिता र कलाकारको अभिनयमा जुन गहिराई र निखार आउनु पर्ने हो त्यसमा भने अहिले पनि केही कमीकमजोरी देखिन्छ । कलाकारले आफूले गर्न खोजेको काममा फोकस गर्न जरुरी छ । कलाकारले गर्ने उम्दा अभिनयले समग्र फिल्म उद्योगलाई नै फाइदा पुर्‍याइरहेको हुन्छ । 


 

प्रतिक्रिया