देशमा राष्ट्रिय एकता र सामाजिक सद्भाव कायम होस् : मुख्यमन्त्री शाह

राम्रो अनलाइन     ०१ वैशाख २०८२, सोमबार

कैलाली–सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले नयाँ वर्ष २०८१ को पावन अवसरमा देशमा राष्ट्रिय एकता र सामाजिक सद्भाव कायम होस् भन्ने शुभकामना दिएका छन्।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयद्वारा शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री शाहले नयाँ वर्षले देशमा दिगो शान्ति, सुदृढ राष्ट्रिय एकता र सामाजिक सद्भावसहित आर्थिक समृद्धि कायम रहोस् शुभकामना दिएका छन्।

हरेक नयाँ वर्षलाई विगतको समीक्षा गर्ने र नयाँ सङ्कल्पका साथ अगाडि बढ्ने अवसरका रूपमा ग्रहण गर्दै आएको उनले बताए । “नयाँ वर्ष आशा, अपेक्षा र उमङ्गको उत्सव हो”, उनले भनेका छन्, “नयाँ वर्षको सुरुआत भएको यस अवसरमा हामीले विगतको कठोर अनुभवबाट शिक्षा लिएर आगामी यात्रा तय गर्न आवश्यक छ ।”

मुख्यमन्त्री शाहले नयाँ वर्षले समाजमा विद्यमान अन्धविश्वास, कुरीति एवं कुसंस्कारलाई हटाउँदै न्यायपूर्ण, सभ्य र  सुसंस्कृत समाज निर्माण गर्न हामी सबैलाई प्रेरणा प्रदान गरोस् भन्ने शुभकामना दिए। 

साथै नयाँ वर्षका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं दीर्घायुको कामना गरेका छन्।

प्रतिक्रिया