क्रूरतापूर्वक मजदुरको शोषण गर्ने अर्बपतिहरू पनि आफ्नो छवि टल्काउन दानको उपयोग गर्छन् । अझ चुनाव जित्ने दल वा उम्मेदवारलाई चन्दा र अनुदान दिएर कर कम गर्ने उपायका रूपमा पनि यसको दुरुपयोग हुने गरेको छ ।
सन् १८८० को दशकमा अमेरिकाको पिट्सबर्ग शहरमा मर्ने सम्पूर्ण पुरुषमध्ये २० प्रतिशत एन्ड्र्यू कार्नेगीको नामक उद्यमीको स्टिल कारखानामा भएका दुर्घटनामा मारिने गर्थे । बाँचेकाहरू पनि हप्तामा सातै दिन १२ घण्टा काम गर्न बाध्य हुन्थे र ४० नकट्दै काम नलाग्ने भइसक्थे । तर, उनले परोपकारी उद्यमीको छवि बनाएका थिए । सयौँ च्यारिटीलाई दान गर्थे, तीन हजार पुस्तकालय खोल्न सहयोग गरेका थिए ।
यो क्रम अझै पनि टुटेको छैन । क्रूरतापूर्वक मजदुरको शोषण गर्ने अर्बपतिहरू पनि आफ्नो छवि टल्काउन दानको उपयोग गर्ने गर्छन् । अझ चुनाव जित्ने दल वा उम्मेदवारलाई चन्दा र अनुदान दिएर कर कम गर्ने उपायका रूपमा पनि यसको दुरुपयोग हुने गरेको छ ।
ठूलो मात्रामा दान गर्ने अर्बपतिहरूलाई मनकारी मान्ने चलन छ । तर, आजको जमानामा परोपकार, दानपुण्य धार्मिक कार्य मात्र होइन । यसको राजनीतिक र वैचारिक अर्थ पनि छ । अन्य कुनै स्वार्थ छैन भने पनि दानपुण्य कम्तीमा संसारलाई आफूले चाहेजस्तो बनाउने प्रयास हो । जुन, दानकर्ताको विचारधारासँग जोडिएको हुन्छ ।
यसै वर्ष बितेका अमेरिकी अर्बपति डेभिड कोक पनि यस्तै एक उद्यमी थिए । उनले आफ्नो ५० अर्ब डलर सम्पत्तिको झण्डै दुई प्रतिशत हिस्सा अर्थात् एक अर्ब डलरभन्दा बढी रकम दान गरेका थिए । क्यान्सरसम्बन्धी अनुसन्धानमा उनले अस्पताल र विश्वविद्यालयहरूलाई ठूलो रकम दिएका थिए । तर, डेभिड र उनका दाजु चाल्र्स दुवै जना नियमन र युनियन गठनविरुद्धको अभियानका लागि परिचित छन् । आफ्ना मुद्दा स्थापित गराउन उनीहरूले रिपब्लिकन पार्टी र यसका उम्मेदवारहरूलाई प्रभावित तुल्याउँदै आएका छन् । मुखले जलवायु परिवर्तनका खतरालाई स्विकारे पनि दुवै भाइले विज्ञानविरोधी विचार फैलाउन ठूलो खर्च गरे । अर्थात्, उनीहरूका लागि च्यारिटी भनेको आफ्नो घृणित राजनीतिक क्रियाकलापलाई सघाउने र चम्किलो छवि कायम राख्ने माध्यम मात्रै हो ।
अर्कोतर्फ धनीमानीहरू आफ्नो कर कम गराउन पनि दानको प्रयोग गर्छन् । सन् २०१७ मा कोक ब्रदर्स लगायतकै प्रभावमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले धनीहरूमाथिको कर कटौती गरे । परिणामस्वरूप सन् २०१८ मा अमेरिकामा अर्बपतिहरूले गरिब जनताभन्दा कम कर तिरे । युनिभर्सिटी अफ क्यालिफोर्निया, बर्कलेस्थित अर्थशास्त्री इम्यानुएल सायज र ग्याब्रियल जुकम्यानले लेखेको ‘द ट्रायम्फ अफ इनजस्टिस’ पुस्तकमा सन् १९६० यताको करको दर विश्लेषण गरिएको छ । जसअनुसार सन् २०१८ मा अमेरिकाका सबैभन्दा धनी चार सय परिवारले मात्र २३ प्रतिशत कर तिर्नुप¥यो । तर, गरिब ५० प्रतिशत अमेरिकी परिवारले भने २४.२ प्रतिशत कर तिरेका छन् । जबकि ती चार सय परिवारसँग ६० प्रतिशत अमेरिकीसँग भन्दा बढी सम्पत्ति छ । अमेरिकाको इतिहासमै यस्तो पहिलो पटक भएको हो । सन् १९८० मा चार सय सबैभन्दा धनी परिवारले ४७ प्रतिशत कर तिरेका थिए ।
राजनीतिक उद्देश्यले दानको दुरुपयोग भएका घटनाको उदाहरणमा कुनै कमी छैन । हिलारी क्लिन्टन अमेरिकी विदेशमन्त्री रहुञ्जेल देशभित्रका मात्र होइन, विदेशी संस्था र व्यक्तिहरूले पनि क्लिन्टन फाउन्डेसनका नाममा धमाधम करोडौँ डलरको चेक काट्ने गर्थे ।
कहाँ जान्छ च्यारिटीको पैसा ?
अर्को महत्वपूर्ण प्रश्न हो, च्यारिटीको पैसा कहाँ जान्छ ? धेरैले ठान्छन्, दान गरिएको सबै पैसा लक्षित कार्यमा खर्च हुन्छ । तर, त्यो भ्रम हो । उदाहरणका लागि, युरोपको कुनै व्यापारीले परोपकारी संस्थामार्फत अफ्रिकाका केटाकेटीको शिक्षाको स्तर उकास्न निश्चित रकम दान दिन्छन् । तर, ती व्यापारीले गरेको दानको आधाभन्दा कम रकम मात्र वास्तवमा अफ्रिकी बालबालिकामा खर्च हुन्छ । बढीजसो रकम प्रशासनिक काम, अधिकारीहरूको तलब, ठूलठूला कार्यालय व्यवस्थापन आदिमा खर्च हुन्छ । वास्तवमा च्यारिटी एउटा उद्योग बनेको छ । बेलायतमा मात्र यो उद्योगमा १० लाखभन्दा बढी मानिसले पूर्ण समयको रोजगारी पाएका छन् । अर्थात्, हरेक ३० बेलायतीमध्ये एक जनालाई च्यारिटीले रोजगारी दिएको छ ।
दानको अर्को समस्या हो, करमा कटौती । जब अर्बपतिहरू करौडौँ दान गर्छन्, तब उनीहरूको करको बिल पनि घट्न जान्छ । यसको प्रत्यक्ष बेफाइदा सर्वसाधारणलाई पर्न जान्छ । धनीबाट पूर्ण कर असुलेर सरकारले गरिबका लागि जति लगानी र खर्च गर्न सक्थ्यो, दानका कारण त्यो सम्भावना टर्न पुग्छ । अर्थात्, सरकारले आवश्यकता हेरेर गर्नुपर्ने खर्च अब दाताले आफ्नो इच्छाअनुसार गर्न पाउने भए । यसको असर कस्तो पर्छ, बुझ्न कठिन छैन । हाम्रो सामूहिक स्रोत कहाँ र कसरी प्रयोग गर्ने भन्ने सरकारले तय गर्ने विषय हो ।
विश्वका विख्यात दानी
वारेन बफेट

विश्वका तेस्रो सबैभन्दा धनी व्यक्ति हुन्, वारेन बफेट । ८८ वर्षे बफेटको सम्पत्ति ८५ अर्ब डलर छ । यद्यपि उनले मितव्ययी अर्बपतिको छवि बनाएका छन् । उनी सन् १९५० मा किनेको घरमा बस्छन् । पुरानो मोडलको कार चढ्छन् । तर, जब दानपुण्यको चर्चा चल्छ, उनको नाम सबैभन्दा अगाडि आउँछ । कारण हो, उनले सन् २००० यता आफ्नो सम्पत्तिको ५५ प्रतिशत हिस्सा अर्थात् ४६ अर्ब डलरभन्दा बढी रकम दान गरिसकेका छन् । गत जुलाई १ मा पनि उनले आफ्नो कम्पनी बर्कसायर हाथवेमा रहेको सेयरमध्ये ३.६ अर्ब डलर बिल एन्ड मेलिन्डा गेट्स फाउन्डेसनलाई दान गर्ने घोषणा गरेका थिए ।
बिल र मेलिन्डा गेट्स

बिल गेट्स लामो समय संसारको सबैभन्दा धनी व्यक्ति रहे । हाल उनी ९७ अर्ब डलरसहित धनीहरूको सूचीको पाँचौ स्थानमा छन् । पत्नी मेलिन्डासँग मिलेर उनले बिल र मेलिन्डा गेट्स फाउन्डेसन खोलेका छन् । जुन संसारको सबैभन्दा ठूलो निजी च्यारिटी मानिन्छ । पोलियो उन्मूलनका लागि रोटरी इन्टरनेसनलसँग यसले सहकार्य गर्छ । माइक्रोसफ्टमा आफ्नो सेयरमध्ये अधिकांश हिस्सा उनले दान गरिसकेका छन् । हालसम्म उनले ४१ अर्ब डलर अर्थात् आफ्नो सम्पत्तिको ४२ प्रतिशत रकम दान गरिसकेका छन् ।
माइकल ब्लुमबर्ग

सन् १९६६ मा सालमन ब्रदर्स नामक बैंकमा सानो जागिरबाट करिअर सुरु गरेका माइकल ब्लुमबर्ग १५ वर्षपछि बर्खास्त भएका थिए । सन् १९८१ मा वित्तीय सूचना तथा मिडिया कम्पनी ब्लुमबर्ग एलपीको स्थापना गरेका ब्लुमबर्ग अहिले विश्वका नवौँ धनी व्यक्ति हुन् । उनीसँग अहिले साढे ५५ अर्ब डलर सम्पत्ति छ । उनले हालसम्म करिब छ अर्ब डलर रकम दान गरिसकेका छन् । जुन उनको सम्पत्तिको १२ प्रतिशत हुन आउँछ । उनले खास गरी बन्दुक नियन्त्रण, जलवायु परिवर्तन रोकथामजस्ता क्षेत्रमा दान गरेका छन् । सन् २०२० को अमेरिकी राष्ट्रपतीय निर्वाचनमा वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पलाई हराउन मात्र उनले ५० करोड डलर खर्च गर्ने योजना बनाएका छन् ।
फिल नाइट

फिल नाइट नाइकी ब्रान्डका संस्थापक हुन् । कम्पनीमा ५२ वर्ष बिताएपछि उनी सन् २०१६ मा निवृत्त भएका थिए । नाइकीले सन् २०१८ मा ३६ अर्ब डलरभन्दा बढी कमाइ गरेको छ । यो कम्पनीको विश्वका ५२ मुलुकमा ७३ हजारभन्दा बढी कार्यालय छन् । नाइटले आफ्नो कुल सम्पत्ति ३३ अर्ब डलरको नौ प्रतिशत रकम दान गरिसकेका छन् । उनले दान गरेको २.९ अर्ब डलरमध्ये आफूले पढेको युनिभर्सिटी अफ अरेगनलाई ५० करोड र स्ट्यानफोर्डलाई ४० करोड डलर दिएका छन् ।
माइकल डेल

डेल टेक्नोलोजीका प्रमुख कार्यकारी अधिकृत माइकल डेल विश्वका २५ औँ धनी व्यक्ति हुन् । उनको कुल सम्पत्ति ३४ अर्ब डलर छ । उनको प्रायः सम्पत्ति निजी लगानी कम्पनी एमएसडी क्यापिटलमा छ । जसको होटल तथा रेस्टुरेन्टहरूमा सेयर छ । सन् २०१७ मा उनले आफ्नो फाउन्डेसनलाई एक अर्ब डलर दान गरेका थिए । त्यस्तै, डेढ अर्ब डलर अन्य च्यारिटीमा दान गर्ने घोषणा पनि गरेका थिए । उनको दान खास गरी गरिब बालबालिकामा केन्द्रित छ । उनले आफ्नो सम्पत्तिको झण्डै सात प्रतिशत दान गरेका छन् ।
कार्लोस स्लिम हेलू

मेक्सिकोका सबैभन्दा धनी व्यक्ति हुन्, कार्लोस स्लिम हेलू । विश्वका पाँचौँ धनी हेलूसँग ६४ अर्ब डलर सम्पत्ति छ । उनी र उनको परिवारले अमेरिका मोबिल नामक ल्याटिन अमेरिकाकै सबैभन्दा ठूलो टेलिकम कम्पनी सञ्चालन गर्छ । उनको लगानी मेक्सिकोमा निर्माण, दैनिक उपभोग्य वस्तु, खानी र रियल स्टेटमा पनि छ । द न्युयोर्क टाइम्सको १७ प्रतिशत सेयर पनि हेलूको नाममा छ । उनले हालसम्म आफ्नो सम्पत्तिको ६.७५ प्रतिशत अर्थात् करिब चार अर्ब डलर दान गरेका छन् ।
मा हुआतेङ

विश्वका २० औँ धनी मा हुआतेङ चीनको अग्रणी इन्टरनेट कम्पनी टेन्सेन्ट होल्डिङका प्रमुख हुन् । पुँजीका हिसाबले यो चीनको सबैभन्दा ठूलो व्यवसायमध्ये एक हो । एक अर्ब प्रयोगकर्ता भएको वीच्याट नामक मेसेजिङ एप पनि यही कम्पनीको स्वामित्वमा छ । माले सन् १९९८ मा साथीहरूसँग मिलेर टेन्सेन्ट कम्पनी स्थापना गरेका थिए । झण्डै ३९ अर्ब डलरका मालिक माले करिब दुई अर्ब डलर दान गरिसकेका छन् ।
ली का सिङ

‘सुपरम्यान’ उपनाम कमाएका ली का सिङ एसियाका सबैभन्दा प्रभावशाली व्यवसायी मानिन्छन् । विश्वका २८ औँ धनी तथा ३१ अर्ब डलरका मालिक ली २०१८ मा आफ्ना दुई कम्पनी सीके हचिसन होल्डिङ्स र सीके एसेट होल्डिङ्सको अध्यक्षबाट निवृत्त भए । उनको फाउन्डेसनले करिब २.६ अर्ब डलर दान गरिसकेको छ ।
सेर्गेई ब्रिन र ल्यारी पेज

गुगलको अभिभावक कम्पनी अल्फाबेटका अध्यक्ष हुन्, सेर्गेई ब्रिन । विश्वका १४ औँ धनी ब्रिनको कुल सम्पत्ति करिब ५० अर्ब डलर छ । सन् १९९८ मा ल्यारी पेजसँग मिलेर उनले गुगलको स्थापना गरेका थिए । ब्रिनले करिब २.२० अर्ब डलर र पेजले करिब दुई अर्ब डलर दान गरिसकेका छन् ।
एजेन्सीको सहयोगमा