चुनावबाहेक अन्य विकल्पतिर सोचे देश दुर्घटनामा पर्नसक्छः प्रचण्ड

राम्रो अनलाइन     १४ पुस २०८२, सोमबार
चुनावबाहेक अन्य विकल्पतिर सोचे देश दुर्घटनामा पर्नसक्छः प्रचण्ड

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले जेनजी आन्दोलनपछि विकसित राजनीतिक घटनाक्रमबाट देशलाई निकास दिने एकमात्र विकल्प निर्वाचन भएको बताएका छन् ।

पूर्वनिर्धारित मितिमा निर्वाचन गराउने बाहेक अन्य विकल्पबारे सोच्न नहुने उनको भनाइ छ । आज बिहान बानेश्वर क्याम्पसमा स्ववियुले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले भने, ‘यो देशलाई निकास दिने अब निर्वाचनमात्रै सबभन्दा राम्रो विकल्प हो । अन्य विकल्पतिर सोच्यो भने फेरी देश अर्को दुर्घटनामा पर्छ ।’

निर्वाचनबाटै देशलाई स्थिरता र विकासको नयाँ प्रक्रियामा लैजान सकिने उनले बताए । सबै दल निर्वाचनमा सहभागी हुने वातावरण बनेको पनि प्रचण्डले बताए । फागुन २१ गते तय भएको प्रतिनिधि सभा निर्वाचनको समानुपातिकतर्फको बन्दसूची बुझाउने तयारी गर्दा आफूलाई खुसी लागेको पनि उनले बताए ।

प्रचण्डले शिक्षा, स्वास्थ्य, रोजगारी जस्ता विषयहरु राज्यको दायित्वभित्र जाओस् र अन्ततः त्यो निःशुल्क होस् भन्ने आफूहरुको चाहना रहेको पनि बताए । ‘आउने दिनमा हामी त्यसको निम्ति आफ्नो ठाउँबाट प्रयास गर्ने विश्वास पनि म तपाईंहरुलाई दिलाउन चाहान्छु’ उनले भने ।

 

प्रतिक्रिया