चार मन्त्रीलाई सांसदबाट हटाउने तयारी

राम्रो अनलाइन     २५ चैत २०७७, बुधबार
चार मन्त्रीलाई सांसदबाट हटाउने तयारी

काठमाडौं : नेकपा माओवादी केन्द्रले  चार जना प्रतिनिधिसभाका सदस्यलाई कारबाही गरेको छ । अर्घाखाँचीबाट निर्वाचित टोपबहादुर रायमाझी, कैलाली–४ बाट निर्वाचित लेखराज भट्ट, रौतहट–३ बाट निर्वाचित प्रभु साह र कैलाली-३ बाट निर्वाचित गौरीशंकर चौधरीलाई कारबाही गरेको हो ।

माओवादी केन्द्रले दल त्यागको सूचना संघीय संसदमा पठाएको छ । अब सभामुखले संसद बैठकमा यसको जानकारी दिएपछि उनीहरु स्वतः पदमुक्त हुनेछन् ।

२६ गते बोलाइएको संसद बैठकमा पदमुक्त भएको जानकारी दिने वा नदिने छलफल गर्नै बाँकी रहेको संसद सचिवालयका अधिकारीहरुले बताएका छन् ।

कारबाहीमा परेका चारै जना नेकपा एमाले प्रवेश गरेका छन् र, बहालवाला मन्त्री हुन् । भट्ट ५ मंसिर २०७६ मा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री बनेका थिए भने साविकको नेकपा विभाजित हुँदा प्रधानमन्त्री केपी शर्मा ओलीलाई साथ दिएका रायमाझी, साह र चौधरी १० पुस २०७७ मा मन्त्री बनेका थिए ।

रायमाझी ऊर्जा, जलस्रोत तथा सिञ्चाइ, साह शहरी विकास र चौधरी श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री छन् । सांसद पद गएपछि उनीहरु पदमुक्त हुनेछन् ।

यदि प्रधानमन्त्रीले मन्त्री पदमा निरन्तरता दिन चाहे संघीय संसदको सदस्य नभएका व्यक्तिलाई मन्त्री नियुक्त गर्न सक्ने संविधानको धारा ७८ अनुसार पुन:नियुक्ति गर्नुपर्छ ।

अधिवक्ता भीमार्जुन आचार्य भन्छन्, ‘संविधान अनुसार दल त्याग गरेको जानकारी संसदमा पुगेपछि सांसद पद जान्छ । उनीहरु ६ महिनाका लागि पुनः मन्त्री हुन्छन्, तर त्यसका लागि पुनर्नियुक्त हुनुपर्छ ।’

प्रतिक्रिया