काठमाडौँ : सर्वोच्च अदालतले तत्कालिन माओवादी केन्द्र र एमालेबीच एकीकरण भएर बनेको नेकपालाई अवैधानिक ठहर गरेपछि यी पार्टीहरु पुर्ववत अवस्थामा पुगे । पुर्ववत अवस्थामा पुगेपछि दुबै पार्टीले आफ्ना पुराना जनसंगठन ब्युँताउन लागेका छन् ।
यसै सन्दर्भमा माओवादीले पनि आफ्नो पुरानो लडाकु संगठन योङ कम्युनिष्ट लिग नेपाल (वाइसीएल) ब्युताएको छ । पार्टीले संगठन ब्युँताएपछि वाइसीएलको चौँथो पूर्ण बैठक बस्यो । बैठकले संगठनमा दुई लाख सदस्य थप्ने निर्णय गरेको अध्यक्ष रामप्रसाद सापकोटाले जानकारी दिए ।
बैठकले आगामी जेष्ठ अन्तिम साता राष्ट्रिय भेला गर्ने भएको छ । बैठकले जेष्ठ २८, २९ र ३० गते काठमाडौंमा राष्ट्रिय भेला गर्ने निर्णय गरेको अध्यक्ष सापकोटाले जानकारी दिए ।
‘चौँथो बैठकबाट हामीले आगामी जेष्ठ २८, २९ र ३० गते काठमाडौँ राष्ट्रिय भेला गर्ने निर्णय गरेका छौं,’ अध्यक्ष सापकोटाले भने ।
२०७५ जेठ ३ गते तत्कालिन माओवादी केन्द्र र एमालेबीच एकीकरण भएर नेकपा बनेसँगै वाइसीएल युवासंघमा समाहित भएको थियो । बैठकले इकाइदेखि केन्द्रसम्म भेला गर्ने निर्णय पनि गरको छ ।