प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले हडतालका बेला भएको क्षति आफूहरूले दिने बताएका छन् । राजधानीमा उनले नेतृत्व गरेको नेकपाको समूहले आयोजना गरेको सभालाई सम्बोधन गर्दै बिहीबार भएको नोक्सानको क्षतिपूर्ति दिने बताएका हुन् ।
‘उहाँहरू बदमासी गर्नुहुन्छ’, उनले बिहीबार प्रचण्ड–माधव समूहको नेकपाले गरेको हडताललाई इंगित गर्दै भने ‘गरिबको नोक्सान भएको कुरा सरकारले हेर्छ, त्यो सरकारले व्यहोर्छ ।’
उनले बिहीबारको बन्द तर्साउनका लागि गरिएको बताए । ‘हिजो तपाईँहरूलाई तर्साउनका लागि नेपाल बन्द गरिदिए । आज बाटोमा खाल्डो खनिए’, उनले भने, ‘कतिपय ठाउँहरूमा बम राखेर अनि विप्लव लेखिदिए ।’
गत पुस ५ गते प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटनको सिफारिस गरेसँगै नेकपा दुई भागमा विभक्त भएको छ । नेकपाको प्रचण्ड–माधव समूह सडक आन्दोलनमा उत्रिएको छ ।
सोही समूहले संविधानविपरीत संवैधानिक निकायमा सिफारिस भएका पदाधिकारीलाई सरकारले नियुक्त गरेको भन्दै बिहीबार आमहडताल गरेको थियो ।