थकाली खाना आफैँमा एउटा ब्रान्ड हो। यो सामान्य भोजनालयदेखि पाँचतारे होटेलसम्म पुगेको छ। लामो सयमदेखि थकाली खाना खुवाइरहेकाहरू नाम मात्रको थकाली खाना यत्रतत्र पाइन थालेपछि चिन्तित पनि भएका छन्।
थकाली महिलाको पाककलाकै कारण थकाली खाना ‘ब्रान्ड’ बन्न पुग्यो। थकाली महिला आफूहरूले पकाउने कला आफ्ना अग्रजबाट सिकेको बताउँछन्। पोखरा घुम्न आउने पर्यटकले मात्र नभएर यहाँका स्थानीय बासिन्दासमेत बेला–बेलामा थकाली खानाको स्वादमा रमाउन परिवारसहित थकाली रेस्टुरेन्टमा पुग्ने गर्छन्। पोखरामा पाइने मीठो थकाली खानाको स्वाद पर्यटकको जिब्रोमै झुण्डिने गर्छ।
पोखरामा अहिले व्यवस्थित रूपले थकाली खाना बेच्ने २५ वटाजति रेस्टुरेन्ट छन्। परम्परागत रूपले लजसहितको थकाली खाना खुवाउने रेस्टुरेन्ट पनि पोखरामा छन्। तर, हिजोआज स–साना भोजनालयदेखि तारेहोटलको मेनुमा समेत थकाली खानाका परिकार देखिन थालेका छन्। नाम मात्रको थकाली खानाले गर्दा वास्तविक थकाली खानाको स्वाद ओझेलमा पर्न थालेको कतिपय व्यवसायी गुनासो पनि गर्छन्।
माइली भान्छाघर
२०५५ सालमा सञ्चालनमा आएको हो, माइली भान्छाघर। यो भान्छाघर १० वर्षसम्म फिस्टेल गेटअगाडि सञ्चालनमा रहेको थियो। १० वर्षअघि भने शान्ति पाटन, लेकसाइडमा सरेको थियो। यस भान्छाघरकी सञ्चालक हुन्, तिलकुमारी गौचन। २०४८ सालमा पोखरा एयरपोर्टअगाडि चिया पसलबाट उनले व्यापार सुरु गरेकी हुन्। उनको आडैमा किरानापसल सञ्चालन गर्ने गुरुङ दिदी थिइन्। उनलाई सबैले माइली दिदी भन्थे। पछि त्यही नामले तिलकुमारीलाई पनि बोलाउन थाले। अनि, उनको नाम माइली दिदी रहन पुग्यो। जुन अहिले पोखराको थकाली खानाको लागि प्रसिद्ध छ।
उनको भान्छाघरमा लोकल कुखुरा, सिजनअनुसार गुन्द्रुक, काउली, सिमी, बोडी, कालो दाल, सिमीको दाल, पापड, दही, घीउ, सलादलगायत पाइन्छ। सिजनअनुसार फाफरको ढिँडो पाइन्छ। हरेक वर्गका व्यक्ति यस भान्छाघरमा पुग्ने गर्छन्। इन्डियन, जापनिज, चाइनिज पर्यटक पनि यहाँ पुग्छन्। १५ हजार रुपैयाँ लगानीमा सुरु गरेको व्यवसायलाई तिलकुमारीले विशाल बनाइन्। यहाँ एकै चोटिमा ३० जनासम्मलाई खाना खुवाइन्छ। दिनमा दुई सय जनासम्मलाई खाना खुवाउने गरेको उनी बताउँछिन्। ‘परिवारसँग धेरै आउने गरेका छन्,’ उनी भन्छिन्, ‘हाम्रोमा बिहान १० बजेदेखि बेलुका १० बजेसम्म खाना खान पाइन्छ।’
मुस्ताङ थकाली किचेन
पोखराको महेन्द्रपुलमा रहेको छ, मुस्ताङ थकाली किचेन। यसका सञ्चालक हुन्, वसन्त गौचन। पोखरा घुम्न आउने पर्यटक मात्र नभई स्थानीयसमेत बेला–बेलामा आफ्नो भान्छाघरमा पुग्ने गरेको उनी बताउँछन्। ‘हाम्रोमा एकै चोटिमा ७० जना सम्मलाई खाना खुवाउन सकिन्छ,’ उनी भन्छन्। ग्राहकलाई स्वाद र व्यवहारले तान्नुपर्छ भन्नेमा आफू सचेत रहेको उनी बताउँछन्। थकालीहरू आफैँ काममा खटिन्छन्। ग्राहकले वास्तविक थकाली खाना पाइने ठाउँ हो कि होइन ? सञ्चालक को हो ? बुझेर मात्र थकाली भान्छाघरमा छिनुपर्ने बताउँछन्, वसन्त। ‘नाम मात्रको थकाली खाना बिक्री हुन थालेपछि वास्तविक थकाली खाना खुवाउनेहरू मर्कामा परेका छन्,’ उनी भन्छन्। बिहान साढे ९ बजेबाट बेलुका साढे ९ बजेको समयसम्म उनको भान्छाघर खुल्ने गर्छ। चिकेन, मटन, सादा गरी ग्राहकले इच्छाअनुसार खानाको स्वाद लिन पाउँछन्। भान्छाघरमा वसन्तको परिवार नै खटिने गर्छ। मुस्ताङ थकाली किचेन सञ्चालनमा आएको १४ वर्ष भइसक्यो।
होटल मोनालिसा थकाली रेस्टुरेन्ट
पोखरा–१७, ड्यामसाइडमा रहेको होटल मोनालिसा थकाली रेस्टुरेन्टले विगत ३६ वर्षदेखि पोखरामा थकाली खाना पस्किँदै आएको छ। ६० देखि ७० जनालाई एकै चोटि खाना खुवाउन सकिने यस भान्छाघरले दिनमा सयौँलाई खाना खुवाउने गर्छ। ‘हाम्रोमा कलाकारदेखि नेतासम्म खाना खान आउँछन्,’ सञ्चालक उषा शेरचन भन्छिन्, ‘कोही परिवारसँग त कोही साथीसँग आउने गर्छन्।’ बिहान १० बजेदेखि बेलुका ९ बजेसम्म खुल्ने भान्छाघरमा ग्राहकको सेवाका लागि १३ जना खटिन्छन्। इन्डियन, कोरियन, जर्मन पर्यटकले समेत थकाली खानाको स्वाद रुचाएको र पटक–पटक आफ्नो रेस्टुरेन्टमा पुग्ने गरेको शेरचन बताउँछिन्। थाक खोलाको सिमीको कालो दाल, टिमुर र आलुको तरकारी, सिमी र जिम्बुको तरकारी, मुलाको अचार, गोलभेँडाको अचार, लप्सीको अचार, साग, निहुरो, साग, पापड, सलाद, मौसम अनुसारका फलफूल, घीउ यहाँ खान पाइन्छ। फापरको ढिँडोसमेत यहाँ उपलब्ध हुन्छ। धेरैजसो खानेकुरा मुस्ताङबाट ल्याइन्छन्। शान्त वातावरणमा फेवातालको किनारानजिकै रहेको यो थकाली रेस्टुरेन्ट थकाली खाना खान खोज्नेहरूको रोजाइमा पर्ने गर्छ।
थकाली फुड्स क्रसरोड्स
पोखराको न्युरोडमा नौ वर्षयता सञ्चालनमा रहेको छ, थकाली फुड्स क्रसरोड। वीरेन्द्र शेरचन, अनिल हिराचन, अनिल तुलाचनले सञ्चालनमा ल्याएको क्रसरोड्समा एकै चोटिमा ६० जना सम्मलाई खाना खुवाउन सकिन्छ। यहाँ दिउँसो र रातिको खानाको मूल्य फरक–फरक छ। यहाँ हलको व्यवस्था पनि छ। मिटिङ गर्न मिल्ने स्पेस पनि यहाँ रहेको छ। दैनिक १ सय ५० देखि तीन सयसम्म मानिस खाना खान यहाँ पुग्ने क्रसरोड्सका सुपरभाइजर नारायण खनाल बताउँछन्। मुस्ताङको सिमी तथा मासको दाल, सिजनल तरकारी, अचार, चटनी, सलाद, दाल, आलु तारेको, गुन्द्रुक, घीउ, साग यहाँको खाना सेटमा पर्छ। १५ जनालाई रोजगारी दिएको यस भान्छाघरमा सुनकुमारी शेरचन र प्रमिला शेरचन भान्छामा खटिन्छन्।
थकाली चुलो
एक दशकयता पोखराको मानवअधिकार चोक, चिप्लेढुंगामा सञ्चालित थकाली चुलोले खानापारखीको मन जितेको छ। यहाँ ५० जनासम्मलाई एकैचोटि खुवाउन सकिन्छ। गोलभेँडाको अचार, मुलाको अचार, सिमीको कालो दाल, गुन्द्रुक साँधेको, साग, दही, पापड, सलाद आलु र काउलीको तरकारी, मौसमअनुसार तरकारी, घीउ यहाँ खान पाइन्छ। फापरको ढिँडो पनि पाइन्छ। यहाँ परिवारसहित खाना खान आउने धेरै हुन्छन्।
बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म र साँझ ६ बजेदेखि साढे ९ बजेसम्म यहाँ खाना खान पाइन्छ। थकाली खानाको स्वाद स्वदेशीले मात्र नभएर विदेशीले पनि मन पराएको सञ्चालक सिर्जना थकाली बताउँछिन्। चिल्लो, पिरो कम हुने र स्वास्थ्यकर खाना पकाउने गरेको सिर्जना बताउँछिन्। उनलाई श्रीमान् विनोदकुमारले सघाउँछन्। भान्छामा सिर्जना नै खटिन्छिन्। यहाँ सादा खाजासमेत खान पाइन्छ। समय लगाएर फलामको ताप्केमा घोटेर मासको दाल पकाउँदा स्वादिलो हुने उनी बताउँछिन्। ‘बच्चाका लागि हाफ प्लेट खाना पनि उपलब्ध गराउँछौँ,’ उनी भन्छिन्।