भारतलाई हराउँदै अष्ट्रेलिया टेस्ट च्याम्पियनसिपको फाइनलमा

राम्रो अनलाइन     २१ पुस २०८१, आइतबार
भारतलाई हराउँदै अष्ट्रेलिया टेस्ट च्याम्पियनसिपको फाइनलमा

 

काठमाडाैं – पाँचौं तथा अन्तिम टेस्ट क्रिकेटमा भारतमाथि अष्ट्रेलियाले ६ विकेटको जीत दर्ता गर्दै विश्व टेस्ट च्याम्पियनसिपको फाइनलमा स्थान बनाएको छ । सिड्नीमा भएको टेस्टमा अस्ट्रेलिया विजयी भएसँगै भारतबाट १० वर्षपछि बोर्डर गावस्कर ट्रफी पनि खोस्न सफल भयो । 

टस जितेर पहिलो पारिमा ब्याटिङ गरेको भारतले पहिलो दिननै १८५ रनमा समेटिएको थियो । भारतका लागि पहिलो पारिमा ऋषभ पन्तले सर्वाधिक ४० रन बनाउँदा रविन्द्र जडेजाले २६ रन जोडेका थिए । नियमित कप्तान रोहित शर्मालाई ड्रप गरिएको खेलमा कप्तानी भूमिका निर्वाह गरेका जसप्रित बुमराहले २२ रन बनाए । यसैगरी शुभमन गिलको ब्याटबाट २० रन बनेको थियो । अष्ट्रेलियाका स्कट बोलान्डले सर्वाधिक ४ विकेट लिँदा मिचेल स्टार्कले ३ विकेट हात पारे । पाट कमिन्सले २ तथा नाथन लियोनले १ विकेट लिए ।

जवाफमा पहिलो पारिमा अष्ट्रेलियाको प्रदर्शन पनि सुखद भने रहेन । दोस्रो दिनमै जम्मा १८१ रन बनाउँदा अस्ट्रेलिया अलआउट भयो । अष्ट्रेलियाका बेउ वेबस्टरले सर्वाधिक ५७ रनको अर्धशतकीय पारि खेल्दा स्टेभन स्मिथ ३३ रनमा आउट भएका थिए । साम कोनस्टासले २३ तथा एलेक्स केरीले २१ रन बनाए । भारतका मोहमद सिराज र प्रसिद्ध कृष्णाले तीन तीन विकेट लिँदा जसप्रित बुमराह र नितिश कुमार रेड्डीले दुई दुई विकेट लिए । पहिलो पारिमा अष्ट्रेलिया १८१ रनमा समेटिए पछि भारतले ४ रनको झिनो अग्रता लिएर दोस्रो पारि सुरु गरेको थियो । 

दोस्रो पारि पनि भारतको खराब नै रह्यो । भारतले दोस्रो पारिमा जम्मा १५७ रन बनाउँदा अलआउट भयो । त्यसपछि अष्ट्रेलियाले १६२ रनको लक्ष्य पाएको हो । भारतका लागि दोस्रो पारिमा ऋषभ पन्तले सर्वाधिक ६१ रनको अर्धशतकीय पारि खेल्दा यशश्वी जयसवालले २२ रन बनाए । केएल राहुल, शुभमन गील र रविन्द्र जडेजा तीनै जनाले १३–१३ रनको योगदान गरे । पहिलो र  दोस्रो दुवै पारिमा स्टार खेलाडी विराट कोही चल्न सकेनन् । वासिङ्टन सुन्दरले १२ रन जोडेका थिए । अष्ट्रेलियाका स्कट बोलान्डले ६ खेलाडीलाई पभेलियन पठाए । यसैगरी पाट कमिन्सले ३ विकेट लिँदा बेउ वेबस्टरले १ विकेट हात पारे ।

१६२ रनको लक्ष्य अष्ट्रेलियाले तेस्रो दिनमै पूरा गरेर खेल जित्न सफल भयो । अष्ट्रेलियालाई जिताउन बेउ बेबस्टरले ३९ तथा ट्राभिस हेडले ३४ रनको नटआउट पारि खेले । यस्तै, उस्मान ख्वाजाले ४१ रन बनाउँदा साम कोनस्टासले २२ रन जोडे । मार्नस लावुसेन ६ तथा स्टेभन स्मिथ ४ रन बनाएर आउट भए ।  भारतका प्रसिद्ध कृष्णाले ३ तथा मोहमद सिराजले १ विकेट लिए । प्लेयर अफ दी म्याच अष्ट्रेलियाका स्कट बोलान्ड भए । उनले पहिलो र दोस्रो पारिमा गरेर १० विकेट लिएका थिए ।

यसैगरी प्लेयर अफ दी सिरिज भने जसप्रित बुमराह बने । उनले प्रतियोगिताभर ४२ रन बनाउनुका साथै ३२ विकेट लिए ।  भारतलाई पराजित गरेको अष्ट्रेलियाले अब विश्व टेस्ट च्याम्पियनसिपको फाइनलमा दक्षिण अफ्रिकासँग प्रतिस्पर्धा गर्ने छ । 

प्रतिक्रिया