बारका चार पूर्वअध्यक्षको माग : प्रधानमन्त्री ओलीलाई अदालतको अवलेना मुद्दामा कारबाही गरियोस्

राम्रो अनलाइन     ११ माघ २०७७, आइतबार

नेपाल बार एशोसिएसनका चार पूर्वअध्यक्षहरूले प्रधानमन्त्री केपी शर्मा ओलीलाई अदालतको अवहेलना तथा मानहानीको मुद्दामा जवाफदेही गराउन माग गरेका छन् । 

प्रधानमन्त्री ओलीले वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीको मानमर्दन गरेको भन्दै बारका पूर्वअध्यक्षहरुले आपत्ति जनाउँदै यस्तो माग गरेका हुन् ।

आइतबार संयुक्त वक्तव्य जारी गर्दै वरिष्ठ अधिवक्ता हरिहर दाहाल, शम्भु थापा, प्रेमबहादुर खड्का र शेरबहादर केसीले प्रधानमन्त्री ओलीलाई जवाफदेही बनाउने सम्बन्धित निकायको ध्यानाकर्षण गराएका हुन् । उनीहरूले प्रधानमन्त्रीको अभिव्यक्ति कानून व्यवसायमाथिकै निर्लज्ज प्रहार भएको बताएका छन् ।

‘वरिष्ठतम अधिवक्ता नेबारएका पूर्वअध्यक्ष कृष्णप्रसाद भण्डारीको घोर अपमान र मानमर्दन गरेकोले यो समस्त कानून व्यवसायमाथिकै सत्तापक्षद्वारा गरिएको निर्लज्ज प्रहार हो’, वक्तव्यमा भनिएको छ’, ‘यस सम्बन्धमा प्रधानमन्त्रीलाई सार्वजनिक क्षमायाचना गर्न र अदालतको अवहेलनाजन्य कार्य गरेवापत् उहाँलाई जवाफदेही बनाउन सम्बन्धित निकायको ध्यानाकर्षण गराउन चाहन्छौं ।’

संसद पुनःस्थापनाको पक्षमा बहस गरेका वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीलाई लक्षित गरेर प्रधानमन्त्री ओलीले ‘एक जना बाजे वकिललाई लिएर तमासा गर्न गएछन्’ भनेका थिए ।


 

प्रतिक्रिया