बागमती प्रदेशमा राष्ट्रियसभा निर्वाचनको तयारी तीव्र

राम्रो अनलाइन     १३ पुस २०८२, आइतबार
बागमती प्रदेशमा राष्ट्रियसभा निर्वाचनको तयारी तीव्र

बागमती–निर्वाचन आयोगले आगामी माघ ११ गते हुने भनिएको राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि बागमती प्रदेशमा तयारी अघि बढाएको छ । आयोगले बागमती प्रदेश निर्वाचन आयोगको कार्यालयका लागि मकवानपुर जिल्ला अदालतका न्यायाधीश गीता श्रेष्ठलाई निर्वाचन अधिकृत नियुक्त गरिसकेको छ । 

बागमती प्रदेश निर्वाचन कार्यालय हेटौँडाका प्रमुख हरिप्रसाद ढकालका अनुसार निर्वाचन कार्यालयभित्रै यही पुस १६ गते निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्ने तयारी भएको छ । 

बागमती प्रदेशमा राष्ट्रियसभा सदस्यतर्फ एक महिला र एक खुला गरी दुई सिटका लागि निर्वाचन हुनेछ । सो निर्वाचनका लागि हेटौँडा उपमहानगरपालिका– ४ स्थित भुटनदेवी माध्यमिक विद्यालयलाई मतदानस्थल र प्रदेशसभा सदस्य तथा पालिका प्रमुख÷उपप्रमुख र अध्यक्ष÷उपाध्यक्षका लागि छुट्टाछुट्टै दुई वटा मतदान केन्द्र निर्धारण गरिएको छ । 

निर्वाचन अधिकृतको कार्यालय स्थापन भएपछि पुस १७ गतेदेखि निर्वाचन कार्यतालिका अनुसार अन्य काम अघि बढ्ने उहाँको भनाइ छ । पुस १७ गते अन्तिम मतदाता नामावली प्रकाशन, पुस १८ गते मतदातामा दाबी विरोध र पुस २३ गते उम्मेदवारी मनोनयन दत्र्ता गरिनेछ । निर्वाचनलाई निष्पक्ष र मर्यादित बनाउन सुरक्षा निकायसँग नियमित समन्वय भइरहेको प्रमुख ढकालले बताए। 

राष्ट्रियसभाको निर्वाचनको मिति नजिकिँदै जाँदा राजनीतिक दलहरुले सक्रिया बढाएको छ । विभिन्न राजनीतिक दलहरुले उम्मेदवार चयनदेखि चुनावी अङ्कगणितमा जुटेका छन् । ‘‘जिल्ला जिल्लाबाट सम्भावित उम्मेदवारको सूची आउने क्रम जारी छ”, नेपाली कांग्रेस बागमती प्रदेश समितिका सभापतिसमेत रहनुभएका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भने, “जिल्लाबाट आएका सिफारिस अध्ययन गर्ने र पार्टीभित्र आन्तरिक छलफल भइरहेको छ ।” उम्मेदवार सम्बन्धमा केन्द्रीय समितिसँगसमेत छलफल पश्चात उम्मेदवारको अन्तिम टुङ्गो लगाइने उनको भनाइ छ । 

एक सय १० सदस्यीय प्रदेशसभा र एक सय १९ स्थानीय तह रहेको बागमती प्रदेशको मतभार अनुसार नेपाली कांग्रेस बलियो देखिन्छ । राष्ट्रियसभाका लागि बागमती प्रदेशमा प्रदेशसभाका एक सय १० र पालिकातर्फ दुई सय ३८ गरी तीन सय ४८ मतदाता छन् भने १० हजार तीन ५२ मतभार रहेको छ । 

बागमती प्रदेशमा नेपाली कांग्रेसको प्रदेशसभामा ३७ र स्थानीय तहतर्फ एक सय आठ जना छन् । त्यो अनुसार कांग्रेसको चार हजार १३ मतभार छन् । यस्तै नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) र नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) मिलेर बनेको नेपाली कम्युनिष्ट पार्टीसँग दुई हजार सात सय ३८ मतभार छन् । 

बागमती प्रदेशमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) दुई हजार पाँच सय ७१ मत मतभारसहित तेस्रो स्थितिमा छन् । प्रदेशसभामा १३ सिट रहेको राष्ट्रिय प्रजातन्त्र पार्टीको सात सय ८ मतभार छ भने नेपाल मजदुर किसन पार्टीको एक सय ९७ मतभार, हाम्रो नेपाली पार्टीको एक सय छ मतभार र स्वतन्त्रको १९ मतभार छन् । 

प्रतिक्रिया