बाग्मती प्रदेशमा छ वटा विधेयक प्रमाणीकरण    

रासस     ०८ माघ २०७७, बिहिबार

बाग्मती प्रदेशका प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईंले छ वटा विधेयक प्रमाणीकरण गरेका छन् । बुधबार बसेको प्रदेशको सातौँ अधिवेशनको पहिलो बैठकमा प्रमुख प्रसाईंले विधेयक प्रमाणीकरण गरेका सभामुख सानुमार श्रेष्ठले जानकारी दिए । 
     
सभामुख श्रेष्ठका अनुसार प्रदेश प्रमुख प्रसाईंले संविधानको धारा २०१ को उपधारा २ प्रयोग गर्दै उक्त विधेयक प्रमाणीकरण गरेका हुन् । प्रदेश प्रमुखले प्रदेश आर्थिक कार्यविधि ऐन, २०७४ लाई संशोधन गर्न बनेको विधेयक, वातावरण संरक्षण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, अन्तरप्रदेश बासिन्दाको सम्मान, सुरक्षा, व्यवहार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, केही प्रदेश ऐनलाई संशोधन गर्न बनेको विधेयक, प्रदेशभित्र सुशासनको प्रत्याभूति गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र प्रदेश प्रहरी सेवा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रमाणीकरण गरेका हुन् ।

यसैबीच प्रदेशसभाको बैठक स्थगगित गरिएको छ । अर्को सूचना जारी नभएसम्मका लागि स्थगित भएको हो । बुधबार बसेको वाग्मती प्रदेशको सातौँ अधिवेशनको पहिलो बैठकमा मुख्यमन्त्री डोरमणि पौडेलसहित सबै दलको संसदीय दलका नेताले शुभकामना मन्तव्य व्यक्त गरेपछि प्रदेशसभाको बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित भएको सभामुख श्रेष्ठले बताए । 
 

प्रतिक्रिया