अन्ततः देउवा कांग्रेसबाट प्रधानमन्त्रीको सर्वसम्मत उम्मेदवार 

राम्रो अनलाइन     २९ फागुन २०७७, शनिबार
अन्ततः देउवा कांग्रेसबाट प्रधानमन्त्रीको सर्वसम्मत उम्मेदवार 

प्रमुख प्रतिपक्ष कांग्रेसले वैकल्पिक सरकार निर्माणका लागि पार्टी सभापति शेरबहादुर देउवालाई सर्वसम्मतिबाट प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अघि सारेको छ । पार्टीमा सहमति जुटेपछि संसदीय दलका नेतासमेत रहेका देउवाले आफ्नो नेतृत्वमा सरकार निर्माणका लागि अग्रसरता लिने भएका छन् ।

देउवाको नेतृत्वमा वैकल्पिक सरकार निर्माण गर्न माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा) को यादव–भट्टराई समूहले केही समयअघिदेखि पहल गरिरहे पनि उनी आफैंले भने अग्रसरता लिइरहेका थिएनन् । पार्टीभित्रको प्रतिस्पर्धी समूहले समेत नेतृत्व लिने गरी अघि बढ्न आग्रह गरेपछि देउवा एकाएक उत्साही भएका हुन् । यसअघि वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला पक्षले प्रतिपक्षमा बस्नुपर्ने धारणा सार्वजनिक रूपमा उठाउँदै आएपछि देउवालाई अप्ठ्यारो परेको थियो । उनले सत्तालोलुप नभएको सन्देश दिन बिहीबारमात्रै सरकारको नेतृत्व लिन आफूले नचाहेको प्रस्टीकरण दिएका थिए । सत्ता समीकरणका लागि शुक्रबार कांग्रेस र जसपाबीच छलफल भएको थियो ।

अप्ठ्यारो परिस्थितिमा दलहरूसँग संयोजन गर्दै आवश्यक पर्दा सरकारको नेतृत्वसमेत लिने गरी तीन दलको गठबन्धन बनाउन पहल थाल्नुपर्ने धारणा आफूहरूले बनाएको नेता अर्जुननरसिंह केसीले बताए । ‘कांग्रेसलाई प्रतिपक्षमा बस्ने म्यान्डेट दिइएको हो । सरकारमा जान हुन्न । फ्लोरबाट सहयोग गर्नुपर्छ भन्ने मलगायत केही साथीहरूका धारणा छन्,’ केसीले भने, ‘तर परिस्थिति जटिल बन्दै जान थालेपछि वैकल्पिक सरकारको नेतृत्व लिन गम्भीर भएर सोच्नुपर्छ भन्ने साझा धारणा बनेको छ ।’

प्रतिक्रिया