अदालतको निर्णयलाई स्वीकार गरिन्छ : सभापति देउवा

राम्रो अनलाइन     २८ पुस २०७७, मङ्गलबार
अदालतको निर्णयलाई स्वीकार गरिन्छ : सभापति देउवा

चौतारा, २८ पुस  ः पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अदालतलाई स्वतन्त्र मान्ने नीति भएकाले संसद् विघटनको मुद्दामा सर्वोच्च अदालतले गरेको निर्णयलाई पार्टीले सहस्र स्वीकार गर्ने बताएका छन् ।

सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकास्थित पलाँतीमा आयोजित फुटबल प्रतियोगिताको समापन समारोहलाई आज सम्बोधन गर्दै सभापति देउवाले अदालत स्वतन्त्र निकाय भएकाले स्वतन्त्ररूपमा निर्णय गर्न पाउनुपर्छ भन्दै अदालतलाई सडकबाट धम्क्याउने काम पार्टीको नीतिभित्र नपर्ने स्पष्ट पारे । नेपाली कांग्रेस प्रजातान्त्रिक पार्टी भएको उल्लेख गर्दै संसद् पुनःस्थापना भए पनि अथवा निर्वाचन हुने भए पनि पार्टी पछि नहट्ने धारणा उनले राखे । कांग्रेसका केन्द्रीय सदस्य एवं खेलकूद विभाग प्रमुख मोहनबहादुर बस्नेतले प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नै पार्टीको आन्तरिक कलहलाई मिलाउन असफल भएपछि बहुमतको सरकार भए पनि संसद् विघटन गरेको बताए ।

पूर्वसूचना तथा सञ्चारमन्त्रीसमेत रहनुभएका बस्नेतले आफ्ना मातापिता कोमल माया–खड्ग बस्नेतको स्मृतिमा आयोजना गर्नुभएको फुटबल प्रतियोगितामा आज भएको फाइनल खेलमा मेलम्ची नगरपालिकालाई शून्यका विरुद्ध एक गोलले पराजित गरी सुनकोशी गाउँपालिका विजय भएको छ । सभापति देउवाले प्रथम हुने टिमलाई नगद रु एक लाख ११ हजार १११ र द्वितीय हुने टिमलाई रु ५५ हजार ५५५ र ट्रफी तथा पदक प्रदान गरे । त्यस्तै प्रतियोगितामा उत्कृष्ट खेलाडी र म्यान अफ द म्याचलाई क्रमशः रु २० हजार र पाँच हजारसमेत प्रदान गरे । पुस २२ गतेदेखि शुरु भएको उक्त प्रतियोगितामा जिल्लाका नौ स्थानीय तहले भाग लिएका थिए ।
 

प्रतिक्रिया