आस्थाको ‘लै बरी लै’ सार्वजनिक 

राम्रो अनलाइन     २९ असोज २०८०, सोमबार


काठमाडौँ–गायिका आस्था राउतको स्वरमा रहेको गीत ‘लै बरी लै’ सार्वजनिक भएको छ । घटस्थापनाको साइत पारेर आस्थाको युट्युब च्यानलमार्फत आइतबार गीत सार्वजनिक गरिएको हो । गीतमा सावित्री राउतको शब्द र सुरेश अधिकारीको संगीत छ । मिक्सिङ र मास्टरिङ किशोर थापाको छ ।

गीतको भिडियोमा आस्था राउत, राज कटुवाल, मिहाङ र प्रवेशले अभिनय गरेका छन् । भिडियोमा उपाशना शाक्य, कृतिका बराल, कञ्चन श्रेष्ठ, रिया सुन्दासलाई पनि देख्न सकिन्छ । गीतले छोटो जिन्दगीमा रमाइलो गर्नुपर्ने सन्देश दिन्छ ।

गायिका आस्थाले गीतको भाव र चाडपर्वको मौसम एकै भएकाले गीतले दर्शकको साथ पाउने विश्वास व्यक्त गरेकी छिन् । यो गीत मात्र नभएर मेरा प्यारा दर्शकलाई सन्देश पनि हो,’ आस्थाको भनाइ छ । उनको नृत्य कौशलले उनी गीत र नृत्य बराबरी गर्न सक्ने पक्का परफर्मर भएको सन्देश दिन सफल भएकी छिन् ।

किरण थापा निर्देशित भिडियोमा झोलेइज्मको छायांकन, सम्पादन र भिजुअल इफेक्ट, किरन थापाको कोरियोग्राफी, रमा विश्वकर्माको सहायक कोरियोग्राफी रहेको छ । ‘सालको पात टपरी’ बोलको रिमिक्स गीतबाट गायन यात्रा सुरु गरेकी आस्थाले ‘चौबन्दीमा पटुकी’ बोलको गीतबाट आफूलाई स्थापित गरेकी थिइन् ।

प्रतिक्रिया