दश दिनअघि जस्तै लाग्छ । पहिलोपटक आफूलाई सेतो पर्दामा देख्दा अलिकता लाज थियो, अलिकता उत्साह र अलिकता गर्वानुभूति थियो । समयको सुई खट्खट खट्खट् दौडिएर १० वर्षको किशोर भइसकेछ । म अहिले १० वर्षकी कलिली स्वस्तिमालाई हेरिरहेकी छु ।
म प्रायः पछाडि फर्किएर जीवनलाई हेर्दिनँ । यसले कहिलेकाहीँ मानिसलाई विचलित बनाउँछ । ‘ओहो ! यति धेरै गरिसकें’ भन्ने भावले अहंकारी बनाउँछ । ‘हत्तेरी ! केही गर्नै सकिनँ’ भन्ने अनुभूतिले वैराग्यको बाटोमा हिँडाउँछ । म अहंकारी र वैरागी दुवै हुन चाहन्नँ । त्यसैले यतिका वर्ष म पैतालाका छाप नहेरी अघिअघि हिँडिरहें । तर, पर्दाको जीवनले १० वर्षको खुड्किलो उक्लिएपछि मलाई एकपटक टक्क अडिएर पछाडि फर्किन मन लाग्यो । फर्किएर हेर्दा मलाई आनन्द लाग्यो ।
यी १० वर्षमा सिकेका कुरा, भेटेका मान्छे र भोगेका क्षणले अब आउने मेरा दसौं वर्षलाई डोर्याउने छन् । केही नसिकी, केही नपढी म सिनेमामा आएकी थिएँ । काम र अग्रजहरूको मार्गदर्शनले मलाई सिनेमाको कखरा सिकायो । म अहिले सिनेमाको वर्णमाला सिक्दै छु । यो ज्ञानले मलाई अब आउने अनेकौं दशकमा परिपक्व बनाउँदै लैजानेछ । यो यात्रा सम्झेर म रोमाञ्चित भइरहन्छु ।
मलाई स्वीकार्नुभएकोमा धन्यवाद ! मलाई ‘नाइ’ भन्नुभएकोमा धन्यवाद ’ ममा सन्देह गर्नुभएकोमा धन्यवाद । म लड्दा उठाएर हिँडाइदिनुभएकोमा धन्यवाद !
र, मेरो सपनाको अंश बनिदिनुभएकोमा धन्यवाद !
म प्रेमले सधैं यसैगरी भिजिरहन पाऊँ !