आज (माघ १ गते) बाट एक बैंकको कार्ड अर्को बैंकको एटीएममा प्रयोग गर्दा शुल्क लाग्ने नियम लागू भएको छ। राष्ट्र बैंकको निर्देशनअनुसार आजबाट अन्तर बैंकको एटीएम प्रयोग गर्दा सेवा शुल्क लाग्ने भएको हो।
राष्ट्र बैंकले पुस २३ गते नै भुक्तानी सम्बन्धी निर्देशन जारी गर्दै यस्तो नियम माघ १ गतेदेखि लागू गराउन बैंकहरूलाई बताएको थियो। योसँगै आजबाट एक बैंकको एटीएम अर्को बैंकमा प्रयोग गर्दा शुल्क लाग्ने भएको हो।
यसरी अन्तर बैंक एटीएम प्रयोग गर्दा प्रति कारोबार २० रुपैयाँभन्दा बढी शुल्क लिन नपाउने व्यवस्था राष्ट्र बैंकले गरेको छ।
राष्ट्र बैंकले महिनामा दुई पटक मात्र प्रयोग गर्ने प्रयोगकर्ताका लागि भने निःशुल्क गर्नुपर्ने व्यवस्था गर्न निर्देशन दिएको छ।
कोरोना महामारीका कारण गत चैतको दोस्रो साताबाट अन्तर बैंक एटीएम कारोबार निःशुल्क गरिएको थियो।