काठमाडौं । कर्णाली प्रदेश सभाको आजबाट सुरु हुने सातौँ अधिवेशनमा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विश्वासको मत लिने कार्यतालिका तया भएको छ । दिउँसो २ बजे बोलाइएको बैठकमा मुख्यमन्त्री शाहीले विश्वासको मत लिने पत्र दर्ता गराएका छन् ।
गत चैत ५ गते नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिइसकेको छ । एमालेले समर्थन फिर्ता लिएसँगै अल्पमतमा परेका मुख्यमन्त्री शाहीले विश्वासको मत लिन लागेका हुन् ।
मुख्यमन्त्री शाहीले प्रदेश सभा सचिवालयमा पत्र पठाउँदै आजका लागि विश्वासको मत लिनका लागि व्यवस्था मिलाउन भनेका थिए ।
बैठकमा विश्वासको मत लिने कार्यतालिका तय भएपछि नेकपा माओवादी केन्द्रले मुख्यमन्त्रीलाई विश्वासको मत दिन अपिल नै गरेको छ ।
माओवादीकी संसदीय दलकी प्रमुख सचेतक सीता नेपालीले बिहीबार विज्ञप्ति जारी गर्दै मुख्यमन्त्री शाहीको विश्वासको मतको प्रस्तावका पक्षमा मतदान गर्न सबै राजनीतिक दललाई अपिल गरेकी छन् ।
३९ सदस्यीय प्रदेशसभामा माओवादीका १२, एमालेका २०, कांग्रेसका ६ र राप्रपाका १ जना सांसद छन् । हामी मुख्यमन्त्रीमा कायम रहन २० सांसदको समर्थन आवश्यक पर्छ । यो अवस्थामा एमालेका सांसदको मत पाएमात्रै मुख्यमन्त्री जोगिने छन् ।
स्रोतका अनुसार एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहका सांसदहरूले मत दिने बताएका छन् ।