सन्त नेता भट्टराई नेपाली जनतालाई सार्वभौम बनाउने त्यागी व्यक्तित्व : सभापति देउवा (भिडियो)  

राम्रो अनलाइन     ०८ पुस २०८०, आइतबार


ललितपुर–नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सन्त नेता कृष्णप्रसाद भट्टराई (किसुनजी) जनतालाई सार्वभौमसत्ता सम्पन्न बनाउने संविधान जारी गर्ने त्यागी व्यक्तित्व भएको धारणा राखेका छन्।     
     
नेपाली कांग्रेसका नेता तथा पूर्वप्रधानमन्त्री सन्त नेता भट्टराईको शताब्दी जन्मदिवसका उपलक्ष्यमा आज नेपाली कांग्रेस केन्द्रीय कार्यालयमा आयोजित विमर्शसभामा सभापति देउवाले सन्त नेता भट्टराई नेपालका एक त्यागी व्यक्तित्वका रुपमा आफूले पाएको बताए।     
     
‘उहाँलाई मैले नख्खु जेलमा पहिलो पटक भेटेको हो, अत्यन्तै ‘सेन्स अफ ह्युमर’ भएको व्यक्ति हुनुहुन्थ्यो, कहिल्यै चिन्ता नलिने सच्चा त्यागी तथा निर्लोभी व्यक्तित्वका रुपमा उहाँले आफूलाई स्थापित गर्नुभएको थियो’, सभापति देउवाले भने, ‘उहाँले २०४७ सालमा तत्कालीन राजा र जनता सबैले अपनत्व गर्नेगरी नेपाली जनतालाई सार्वभौमसत्ता सम्पन बनाउने संविधान जारी गर्न सफल हुनुभयो । उहाँको त्यागी, सादगीपनका साथै आदर्श व्यक्तित्वका विषयमा अझै खोजी गरेर किताब लेखिनुपर्छ ।’    
     
 सभापति देउवाले आजको समयमा सन्त नेता भट्टराईबाट सिकेर गणतन्त्रात्मक शासन व्यवस्था सुदृढ बनाउनुपर्ने धारणा पनि व्यक्त गरे । नेपाली कांग्रेसका उपसभापति एवं उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले किसुनजी सरकारको नेतृत्व र पार्टी सञ्चालनमा अनुशासित ढङ्गले काम गर्नुभएका निष्ठावान् व्यक्तित्वका रुपमा स्मरण गरे।     

अप्ठ्यारा दिनमा पनि पार्टीमा दुःख पाएका कार्यकर्तालाई सहयोग गरेर हिसाबकिताब राख्दै पार्टी चलाएर नेपाली कांग्रेसलाई सशक्त बनाउने योगदान स्वर्गीय भट्टराइले गरेको खड्काले बताए।     
     
‘किसुनजीले कसैप्रति दुर्भाव राखेको पाइएन । पार्टी सभापति रहेका अवस्थामा चुनाव हार्दा पनि कसैलाई आरोपित गर्नुभएन, आफू अपमानित भएर पनि पार्टीलाई विभाजन हुनबाट रोक्नुभएको थियो, उहाँले आध्यात्मिक, भौतिक, प्रशासनिक तथा निष्ठाका आधारमा देश र जनताप्रति समर्पणको भाव देखाउनुभएको थियो’, उपसभापति खड्काले भने।     
     
खड्काले किसुनजीलाई जनता, कार्यकर्ता र विश्वले विश्वास गर्नेगरी आफूलाई स्थापित गर्न सफल व्यक्तित्वका रुपमा स्मरण गरे । सरकार सञ्चालनमा किसुनजीले देखाउनुभएको बाटो अनुशरण गर्ने प्रतिबद्धता पनि व्यक्त गरे।     
     
कांग्रेस उपसभापति एवं कानुन, न्याय तथा संसदीय व्यवस्थामन्त्री धनराज गुरुङले जीवनभर देश, जनता र प्रजातन्त्रका लागि अविश्राम लागि पर्नुभएका व्यक्तित्व किसुनजीको निष्ठा र साद्गीपनको अनुशरण गर्नसकेमा सच्चा श्रद्धाञ्जलि हुने भन्ने धारणा राखे।
 

प्रतिक्रिया