काठमाडौँ– मुलुकको विकास निर्माण प्रक्रियामा नयाँ खोज्ने र कार्यान्वयन हुने खालका मात्रै योजना छनोट गर्ने उद्देश्य राखेर राष्ट्रिय योजना आयोगले १६ औँ योजनाको तयारी गरिरहेको जनाएको छ ।
आयोजना कार्यान्वयनका क्रममा के कस्ता समस्या देखिए, समाधानका लागि गरिएका प्रयास प्रभावकारी भए वा भएनन् यी र यस्तै प्रश्नको उत्तर खोज्दै जनअपेक्षा सम्बोधन गर्ने गरी नयाँ योजनाको तयारी भइरहेको आयोगका उपाध्यक्ष डा मीनबहादुर श्रेष्ठले जानकारी दिए।
आयोगले सोह्रौँ योजनाको अन्त्यसम्म मुलुकको कूल गार्हस्थ्य उत्पादन (जिडिपी) रु ८० खर्ब बराबरको बनाउने लक्ष्य राखेको छ । त्यसका लागि सरकार, निजी क्षेत्रका तर्फबाट के कस्तो लगानी र तयारी आवश्यक रहेको भन्ने बारेमा छलफल अन्तिम चरणमा रहेको जनाएको छ । निजी क्षेत्रले सन् २०३० सम्म जिडिपी कूल रु एक सय खर्ब बराबरको हुने प्रक्षेपण गरेको छ ।