एकल लगानीमा निजी रङ्गशाला, ६ महिनामै खेल्न योग्य 

राम्रो अनलाइन     ०७ पुस २०८०, शनिबार


रुपन्देही–रुपन्देहीको तिलोत्तमा नगरपालिकामा एकल लगानीमा निजि रङ्गशाला निर्माण भएको छ । अष्ट्रेलियामा बस्ने गुल्मीका विनोद कुँवरले तिलोत्तमा नगरपालिका  वडा नम्बर १७ दरखसवामा साढे ५ विगाह जग्गामा एकल लगानीमा क्रिकेट मैदान बनाउन थालेका हुन् । एक्स्ट्राटेक ओभल क्रिकेट मैदान नाम राखिएको यो काम पूरा गर्न उहा दुई महिनायता कर्मभूमि छाडेर नियमित रुपमा मैदानमा क्रियाशील रहनुभएको छ । यो मैदानका लागि जग्गाबाहेक ४० करोड लगानी लाग्नेछ । यो लगानी चरणवद्ध रूपमा लगाउने र समयमै पूरा गर्ने कुँवरको योजना रहेको छ । भविष्यमा क्रिकेटको लागि मैदान मात्र नभई त्यहीबाट नै क्रिकेट आवासीय क्रिकेट एकेडेमी सञ्चालन गर्ने कुंवरको योजना रहेको छ । 

असोजको तेस्रो हप्ताबाट पहिलो चरणको कार्य शुरु भएको हो । ३ हजार ट्रिपर माटो राखेर मैदान सम्म्याइएको छ । मैदान र पिचमा दुबो लगाउने काम सम्पन्न गरिएको छ । मैदान वरपर ड्रेन निर्माण गर्नुका साथै फेन्सिङ गरिएको छ । पिच बनाइएको छ । साइड स्क्रिनको काम यो हप्तामै सम्पन्न हुने तयारीमा छ ।

माघबाट दोस्रो चरणको काम शुरु हुनेछ । यसमा पेभेलियन, चेन्जिङ रुम, क्यान्टिन, टेक्निकलका लागि रुमहरूको ५ हजार क्षमताको निर्माण कार्य शुरु गरिने छ । चैतबाट साइडको सानो मैदानको काम पनि शुरु हुनेछ । जहाँ प्रशिक्षण गर्न मिल्नेछ । 

अर्को चरणमा मिडिया सेन्टर र थप प्याराफिट निर्माणको कार्य शुरु हुनेछ । प्रत्येक वर्ष ५ हजार दर्शक क्षमता थप्दै ४ वर्षभित्र २५ हजार दर्शक क्षमताको क्रिकेट मैदानलाई रंगशालाको स्वरूपमा निर्माण सम्पन्न गर्दा ४० करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ । २०८० साल जेठ २९ गते शिलान्यास भएको मैदानको ६ महिनाको अवधिमा पहिलो चरणको काम सम्पन्न भएको एक्स्ट्रा ओभल प्रालिका निर्देशक विनोद कुँवरले बताए । यो अवधिमा १८ प्रतिशत काम सकिएको उनाले बताए ।
 

प्रतिक्रिया