काठमाडौँ घोषणापत्र जारी गर्दै निर्वाचन व्यवस्थापन सम्मेलन सम्पन्न

राम्रो अनलाइन     २१ मंसिर २०८०, बिहिबार
काठमाडौँ घोषणापत्र जारी गर्दै निर्वाचन व्यवस्थापन सम्मेलन सम्पन्न


काठमाडौँ–एसियाका निर्वाचन व्यवस्थापनसम्बन्धी दुई दिने अन्तर्राष्ट्रिय छैटौँ सम्मेलनले लोकतन्त्रको सबलीकरण र निर्वाचनको तटस्थता प्रवद्र्धनका लागि कानुनमा संशोधनका विषयमा आज २९ बुँदे काठमाडौँ घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ ।

निर्वाचन आयोग नेपाल र  ‘एसियन नेटवर्क फर फ्रि इलेक्सन (एनफ्रेल) को आयोजनामा तथा यस क्षेत्रमा निर्वाचनसम्बन्धी निकाय र सरोकारवाला संस्थाका प्रतिनिधिको सहभागितामा  भएको उक्त ‘एसियन इलोक्ट्रोल स्टेकहोल्डर फोरम’को समापनका अवसरमा परराष्ट्रमन्त्री नारायणप्रकाश साउदको उपस्थितिमा घोषणापत्र जारी भएको हो । सो अवसरमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया र एनफ्रेलका अध्यक्ष रोहन एन हेट्यिाराच्चेइले हस्ताक्षर गरी घोषणापत्र जारी गरे।
    
सो अवसरमा स्वच्छ, स्वतन्त्र र निष्पक्ष निर्वाचनका लागि प्राप्त सुझावका आधारमा विद्यमान कानुनमा सुधार गर्न आफूहरु तत्पर रहेको प्रतिबद्धता व्यक्त गरियो। निर्वाचन प्रणालीलाई सबल र सामयिक परिमार्जित नगरी लोकतन्त्र बलियो र दिगो हुन नसक्नेमा वर्तमान सरकार स्पष्ट रहेको मन्त्री साउदको भनाइ थियो । निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले सम्मेलनमा सहभागी भई गहन छलफलबाट घोषणापत्र तयारीसम्म महत्वपूर्ण भूमिका निर्वाह गरेकामा आभार व्यक्त गरे। 

निर्वाचन आयुक्त सगुनशमशेर जबराले नेपालको निर्वाचन कानुनमा आवश्यक संशोधनका लागि मस्यौदा विधेयक तयार गरी नेपाल सरकारसमक्ष पेस गरिसकेको जनाए । सम्मेलनमा एसिया तथा प्रशान्त क्षेत्रका ४० देशका निर्वाचन व्यवस्थापनसम्बन्धी निकायका प्रमुख तथा प्रतिनिधि, नागरिक समाज र निर्वाचनका विभिन्न आयाममा क्रियाशील सामाजिक तथा प्राज्ञिक संस्थाका दुई सय भन्दा बढी प्रतिनिधि सहभागी थिए ।  सम्मेलनको मुख्य नारा ‘बिल्डिङ सस्टेनेबल डेमोक्रेसिसः एड्रेसिङ इलोक्ट्रोल च्यालेन्जेज एण्ड अपर्चुनिटिज’ रहेको थियो ।

प्रतिक्रिया