काठमाडौँ–नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले जनताले वाक्कदिक्क भएर फ्याँकेको राजतन्त्र पुनः आउने कुनै सम्भावना नरहेको बताएका छन् । शुक्रवार पार्टी मुख्यालय च्यासलमा राष्ट्रिय युवा संघ, नेपालको केन्द्रीय कमिटी बैठकमा उनले सो कुरा बताएका हुन्।
कतिपय देशहरुले विभिन्न सम्झौताका कारण राजतन्त्र मानेको भए पनि नेपालमा राजनीतिक, वैचारिक, सैद्धान्तिक कुनै हिसावले पनि राजतन्त्र उपयुक्त नरहेको उनले बताए । एउटा मान्छेको छोरो जन्मिदै राष्ट्र प्रमुख हुने कुरा चेतना नभएका मुर्खहरुले मात्र गर्ने कुरा भएको उनले बताए । त्यतिबेलाको दिन अब फर्केर नआउने उनको भनाइ छ ।
केही व्यक्तिहरु राजतन्त्र फर्काउँछु भनेर जनतामा भ्रम छर्ने गरे पनि त्यो सम्भव नरहेको उनले बताए । देश संकटमा परेका बेला हामी युवाहरु छौं भनेर सन्देश दिएको भन्दै उनले युवा संघलाई धन्यवाद व्यक्त गरे । उनले भन्नुभयो, ‘केही तत्वहरु १५ वर्षअघि फ्यालीसकिएका, हेर्दाहेर्दा वाक्कदिक्क भएर जनताले काम नलाग्ने चिज रहेछ भनेर फालेकालाई पुनः ल्याउँछु भन्नु मुर्खता हो । हाम्रो देशमा राजतन्त्र काम लाग्दैन भनेर नेपाली जनताले फालेका हुन् । २४० वर्ष राजतन्त्रले खाएकै हो, अब त्यो दिन आउँदैन ।’
‘युवा संघले हामी यहाँ छौ भनेर छातिमा टाँसेर होइन, रातो टोपी लगाएर हामी यहाँ छौ भनेर मैदान उत्रेर जे गर्यो म तपाईहरुलाई धन्यवाद भन्न चाहन्छु । युवा संघले देश संकटमा परेको बेला संकटमा काँध थाप्ने हामी छौ है भनेर बोल्यो । धन्यवाद छ युवा संघलाई’ उनले भने।
अध्यक्ष ओलीले बल्खुमा बिहीवार भएको प्रदर्शनमा पाँच सात हजार मान्छे आउँदा सरकार डराएको टिप्पणी गरे । एमालेले जनतालाई निराश हुन नदिने उनले चर्चा गरे । एमालेको पछि नेपाली युवाहरुको ठूलो पङ्ति रहेकाले आत्तिन आवश्यक नरहेको उनको भनाइ छ ।