एमालेका युवा–विद्यार्थीको प्रदर्शन

राम्रो अनलाइन     ०७ मंसिर २०८०, बिहिबार
एमालेका युवा–विद्यार्थीको प्रदर्शन


काठमाडौँ–सामाजिक सद्भाव र धार्मिक सहिष्णुता बिथोलिएको र भ्रष्टाचारजन्य गतिविधि बढेको भन्दै नेकपा (एमाले) निकट युवाले काठमाडौँको तीनकुनेमा विरोध प्रदर्शन गरेका छन् ।

राष्ट्रिय युवा सङ्घ नेपाल र अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियनको आयोजनामा भएको प्रदर्शनमा एमालेका नेता एवं सङ्घका इञ्चार्ज महेश बस्नेत, एमाले नेता पार्वत गुरुङ, सङ्घका अध्यक्ष क्षितिज थेवे, अनेरास्ववियुका अध्यक्ष समीक बडाललगायत नेताले विभिन्न नाममा मुलुकमा अराजकता मच्याउन खोजिएकामा दुःख व्यक्त गर्नुभयो । प्रदर्शनमा एमालेका अन्य जनसङ्गठनको पनि सहभागिता थियो । नेता बस्नेतले नेपालमा अस्थिरता निम्त्याएर विकास र समृद्धि हुन नदिने चलखेलप्रति सदैव चनाखो हुन आग्रह गरे। 

एमाले पोलिट्ब्यूरो सदस्य तथा युवा संघका इन्चार्ज बस्नेतले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बेलैमा सच्चिन आग्रह गरे । ‘प्रचण्ड बेलैमा नसच्चिए सिंहदरबारको कुर्सीबाट ल्याएर माइतीघर कि तीनकुनेमा पछार्ने तागत एमालेको युवा विद्यार्थीसँग छ’, उनले भने ।

नेता बस्नेतले सरकारविरुद्ध अब सातै प्रदेशमा विरोध कार्यक्रम गर्ने पनि बताए । ‘पार्टीले मध्यपहाडी लोकमार्ग केन्द्रित कार्यक्रम सकेपछि फागुनमा काठमाडौंमा मानव सागर उतार्ने सम्भावना छ’, उनले भने ।

बस्नेतले गणतन्त्रमाथि औंलो ठड्याउनेलाई एमालेले ठीक पार्ने पनि बताए । ‘संघीय गणतन्त्रको विषयमा, यो व्यवस्थाको विषयमा, राजतन्त्र पक्षमा कसैले औंलो ठ्ड्याउन थाले ठीक पार्न एमाले तयार छ, केपी ओलीको आदेश आइसकेको छ’, उनले भने । पछिल्लो समय सामाजिक सञ्जालमार्फत नेकपा एमालेलाई हिलो छ्यापेर देशमा अस्थिरता पैदा गर्न खोजेको पनि टिप्पणी गरे ।
 

प्रतिक्रिया