‘पैसा इन्धन हो’ 

राम्रो अनलाइन     २६ कात्तिक २०८०, आइतबार
‘पैसा इन्धन हो’ 

धनलाई प्रभावकारी रूपमा प्रयोग गर्न सकिएन भने त्यसको औचित्य हुँदैन । यसले आर्थिक गतिविधि सिजना गर्नुपर्छ । त्यसले पूर्वाधार सिर्जना गर्न सक्नुपर्छ, ब्रान्ड सिर्जना गर्न सक्नुपर्छ । धन एउटा ‘टुल’ मात्र हो । यसलाई तपाईंले जति प्रभावकारी ढंगले प्रयोग गर्नुभयो, त्यति प्रतिफल बढ्दै जाने हो । 

पैसाको प्रयोग गर्न नजान्नेका लागि पैसा अंक मात्र हो । प्रयोग गर्न जान्नेका लागि भने यो इन्धन हो । इन्धन अभावमा कुनै पनि इन्जिन चल्दैन । त्यस्तै, पैसाविना व्यापार–व्यवसाय गर्न पनि सकिँदैन, धेरैको रोजीरोटी पनि चल्दैन । 

जुन दिनदेखि धन (वा पैसा) लाई प्रभावकारी प्रयोगमा ल्याउन सक्नुहुन्न, त्यस दिनदेखि तपार्इंले पैसालाई हाँक्न सक्नुहुन्न । त्यस दिनदेखि धनले तपाईंलाई हाँक्न थाल्छ । सामान्यतया विश्वभर ‘बिजनेस फेमिली’ तीन पुस्ताभन्दा बढी जाँदैन भन्छन् । एउटा पुस्ताले संघर्ष गरेर जिरोबाट सुरु गर्छ । अर्को पुस्ताले बाउले दुःख गरेको देखेको हुन्छ । बाउले उसलाई बाल्यकालदेखि नै काममा पनि लगाएको हुन्छ । त्यसैले त्यो पुस्ताले बिगार्दैन, बरु व्यवसायमा केही न केही योगदान गर्छ । तेस्रो पुस्तालाई भने अघिल्ला पुस्ताका दुःख थाहै हुँदैन । उसलाई धनले हाँक्न थाल्छ । धनबाट आउने विकृतिमा ऊ सवार हुन थाल्छ । धनले उसलाई डो¥याउन थाल्छ । अन्ततः उसलाई पतन अर्थात् जिरोमा झारिदिन्छ ।

मेरा लागि धन अंक मात्र होइन । म सधैँ भन्छु– वाइवाईलाई न्युयोर्कको स्टक एक्स्चेन्जमा लिस्टेड भएको देख्न चाहन्छु । मेक्सिकन, अफ्रिकन, अमेरिकन, युरोपियन, एसियन सबैका हातहातमा वाइवाई भएको देख्न चाहन्छु । 

मलाई देख्नेबित्तिकै सबै खुशी हुन्छन्, सेल्फी खिच्न तँछाडमछाड गर्छन् । आफ्नो परिवारको सदस्यलाई भन्दा बढ्ता माया गर्छन् । यो सबैभन्दा ठूलो कुरा हो । मेरो आजसम्मको सबैभन्दा विशाल कमाइ यही हो । अर्बपति हुनुभन्दा त्यो ठूलो लाग्छ मलाई । अर्बपति हुनुको के अर्थ छ र ? यो त एउटा ‘प्रोसेस’ मात्र हो भन्ठान्छु । 

प्रतिक्रिया