राष्ट्रसङ्घका महासचिव गुटेर्रेस भोलि नेपाल आउँदै, यस्तो छ भ्रमण तालिका 

राम्रो अनलाइन     ११ कात्तिक २०८०, शनिबार
राष्ट्रसङ्घका महासचिव गुटेर्रेस भोलि नेपाल आउँदै, यस्तो छ भ्रमण तालिका 


काठमाडौँ–संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेस नेपालको औपचारिक भ्रमणमा आइतबार काठमाडौँ आइपुग्ने छन् । नेपाल सरकारका विभिन्न निकायले उनको भ्रमणको आवश्यक तयारी थालेको छ । 

आपसी भाइचारा र शान्तिको सन्देश विश्वलाई दिने उद्देश्यसहित महासचिव गुटेर्रेसको नेतृत्वमा संयुक्त राष्ट्रसङ्घको उच्चस्तरीय प्रतिनिधिमण्डल नेपाल भ्रमणमा आउन लागेको हो । 

विश्वका विभिन्न देशबिच आपसी मतभेदसँगै युद्ध र कलहमा जेलिइरहेका बेला महासचिव गुटेर्रेसको शान्ति भूमि नेपालको भ्रमणलाई महत्वका साथ हेरिएको छ । परराष्ट्र मन्त्रालयले दिएको जानकारी अनुसार महासचिव गुटेर्रेस कतार एयरलाइन्सको जहाजबाट आइतबार दिउँसो १ बजे नेपाल अवतरण गर्नेछन् । 

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को निमन्त्रणामा कात्तिक १२ देखि १५ गतेसम्म चारदिने भ्रमणका लागि नेपालमा रहने परराष्ट्र मन्त्रालयले जनाएको छ । सन् २०१७ मा नयाँ महासचिवको पदभार ग्रहण गरेपछि गुटेर्रेसले पहिलो पटक नेपाल भ्रमण गर्न लागेका हुन् । नेपालका शान्ति सैनिकले विश्व शान्तिका लागि पु¥याएको योगदानको उच्च कदर गर्दै विभिन्न अन्तर्राष्ट्रिय मञ्चमा उनले पटक पटक नेपालको प्रशंसा गरेका छन्। 

शान्तिका अग्रदूत गौतम बुद्धको जन्मस्थल नेपाल भएकाले पनि उनको नेपालप्रति अगाध लगाव रहिआएको छ । विभिन्न कारणले यसअघि तय भएको भ्रमण रोकिए पनि यो पटक जसरी पनि नेपाल भ्रमणमा आउन उनले उत्कृट चाहना राख्नुभएको उनका अभिव्यक्तिले पुष्टि गर्छ । 

नेपाल भ्रमणमा रहँदाको अवसर पारेर नेपाल सरकारले कात्तिक १४ गते सङ्घीय संसद्मा सम्बोधन गर्नका लागि कार्यसूची तय गरेको छ । त्यसअघि राष्ट्रसङ्घका महासचिव गुटेर्रेसले राष्ट्रपति रामचन्द्र पौडेलसँग छुट्टै शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको छ । त्यस्तै प्रधानमन्त्री प्रचण्डसँग विशेष भेटवार्ता गर्ने प्रधानमन्त्री कार्यालयले जनाएको छ। 

शान्ति भूमि नेपालमा पछिल्लो समय जलवायु परिवर्तनको असरले सर्वोच्च शिखर सगरमाथासहितका हिमालय क्षेत्रमा पारेको कडा असरबारे पनि उनको गम्भीर चासो रहिआएको छ । शक्तिशाली मुलुकको औद्योगिक विकासले बढाएको कार्बन उत्सर्जनका कारण बढ्दो विश्वव्यापी तापक्रमले हिमालको हिउँ पग्लँदै जानु विश्वकै चासोको विषय रहेको छ । त्यसको प्रत्यक्ष अवलोकन गर्दै हिमाली क्षेत्रका प्रभावित समुदायसँग महासचिव गुटेर्रेसले कुराकानी गर्ने मन्त्रालयले उल्लेख गरेको छ । 

जलवायु परिवर्तनसम्बन्धी विश्वव्यापी कोप–२८ सम्मेलन आगामी नोभेम्बर महिनामा संयुक्त अरब इमिरेट्समा सुरु हुँदै छ । साथै उनले शान्तिका अग्रदूत गौतम बुद्धको जन्मस्थल लुम्बिनी र सुन्दर पर्यटकीय नगर पोखराको भ्रमण औपचारिक भ्रमण गर्ने कार्यसूची रहेको परराष्ट्र मन्त्रालयका शिष्टाचार महापाल दिलीपकुमार पौडेलले जानकारी दिएका छन्। 

महासचिवका गुटेर्रेसको उच्चस्तरीय प्रतिनिधिमण्डलमा संयुक्त राष्ट्रसङ्घको शान्ति कार्यसञ्चालनका लागि उपमहासचिव जिन पियरे ल्याक्रोइक्स, नेपालका लागि संयुक्त राष्ट्रसङ्घका आवासीय संयोजक हाना सिङ्गर हाम्डी र न्युयोर्कस्थित संयुक्त राष्ट्रसङ्घको मुख्यालयका अन्य उच्चाधिकारी पनि सहभागी रहने मन्त्रालयले जनाएको छ । नेपाल भ्रमणका क्रममा उनले नेपालका विभिन्न विशिष्ट व्यक्तिसँग पनि भेटवार्ता गर्नुहुने कार्यसूची रहेको छ । 

प्रतिक्रिया