काठमाडौँ–नेपाल क्रिकेट सङ्घ (क्यान) का नवनिर्वाचित अध्यक्ष चतुरबहादुर चन्दले नेपाली क्रिकेट टिमलाई भारत र पाकिस्तानको उचाइमा पुर्याउने चुनौती रहेको बताएका छन्।क्यानको निर्वाचनबाट दोस्रो कार्यकालका लागि सर्वसम्मत अध्यक्ष बनेका चन्दले आज सञ्चारकर्मीसँग कुरा गर्दै सरकारले क्रिकेटको विकासका लागि सरकारले भौतिक संरचनामा ध्यान दिएर अगाडि बढ्न आवश्यक रहेको बताए।
‘आगामी तीन महिनाभित्र घरेलु संरचनालाई नयाँ किसीमले बदल्नुपर्छ’, उनले भने । अध्यक्ष चन्दले पद पाएसँगै जिम्मेवारी पाएको उल्लेख गर्दै क्रिकेटलाई नयाँ ढङ्गले अगाडि बढाउने बताउनुभयो । अघिल्लो कार्यकालभन्दा यसपटक केही नयाँ किसिमबाट राम्रो काम गर्ने उनको भनाइ छ ।
सचिवमा पूर्वकप्तान खड्का निर्वाचित
नेपाल क्रिकेट सङ्घ (क्यान) को सचिव पदमा राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्का विजयी भएका छन्। क्यानको आज भएको केन्द्रीय निर्वाचनमा पूर्वकप्तान खड्का कार्यवाहक सचिव प्रशान्तविक्रम मल्ललाई पछि पार्दै निर्वाचित भएका हुन् । उनी क्यानको बागमती प्रदेशका अध्यक्षसमेत हुन् । कुल ८५ मतदाता रहेकामा खड्काले ४८ पत प्राप्त गरे । उनको प्रतिद्वन्द्वीले ३७ मत प्राप्त गरे।
निर्वाचित सचिव पारसले क्रिकेट खेलका लागि जिल्ला र प्रदेशलाई बलियो बनाउँदै अगाडि बढाउने विचार व्यक्त गरे । क्रिकेट खेलमा लागेर बाँच्न सकिने वातावरणको सिर्जना गर्न आफू प्रयासरत रहनेसमेत उनको भनाइ छ ।
त्यस्तै क्यानको उपाध्यक्षमा रोशन सिंह र कोषाध्यक्षमा कर्णाली प्रदेश क्रिकेट सङ्घका अध्यक्ष पदमबहादुर खड्का निर्विरोध निर्वाचित भए । महिला सदस्यमा जयन्ती भट्ट निर्विरोध निर्वाचित भइन् । सदस्यमा लुम्बिनी प्रदेशबाट प्रदीप मजगैँया र कर्णालीबाट श्रीधर केसी पनि सर्वसम्मत चयन भए।
अरु पाँच प्रदेशबाट प्रतिनिधित्व गर्ने एक–एक जना सदस्य र खुला पाँच सदस्यका लागि पनि चुनाव भएको थियो । त्यसमा कोशीबाट अर्जुन पौडेल ४७ मत प्राप्त गर्दै विजयी भए । मधेस प्रदेशबाट माधवकुमार कर्मचार्य र मोहम्मद दाउद अन्सारीको भोट ४२ बराबर हुँदा गोलाप्रथाबाट माधवकुमार कर्माचार्य विजयी भए ।
त्यस्तै गण्डकीबाट सुदीप शर्मा ५२ मतसहित विजयी हुनुभयो भने बागमतीमा दिवाकर घले ४६ मत ल्याएर विजयी भए । सुदुरपश्चिमबाट विक्रम विष्ट ४९ भोट प्राप्त गर्दै विजयी हुनुभयो । खुला सदस्यमा धीरेन्द्र साउद ५९ र दुर्गाराज पाठक ५४ ल्याएर निर्वाचित भए।
त्यस्तै आयुष श्रेष्ठले ५१ मत प्राप्त गर्नुभयो भने वीरेन्द्र चन्द ३४ मत ल्याएर विजयी भए । करण महतरा क्षेत्री र ऋषिराम गौतमले बराबर २६ मत प्राप्त गरे र गोलाप्रथा गर्दा महतरा विजयी भए।
पाँच प्रदेशबाट चयन हुने एक–एक सदस्यका लागि कुल १० जनाको उम्मेदवारी परेको थियो । खुलातर्फका पाँच जनाका लागि १३ को उम्मेदवारी परेको थियो । क्यानको निर्वाचनमा कुल ८५ जनाले मतदान गरेका थिए।