गाईजात्राको अवसरमा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकको  ‘गौरव यात्रा’

राम्रो अनलाइन     १४ भदौ २०८०, बिहिबार
गाईजात्राको अवसरमा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकको  ‘गौरव यात्रा’

 

काठमाडौँ–नेपालका यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक (एलजीबीटीआई) समुदायले विभेदरहित समाज निर्माण र समान अधिकारको माग राख्दै आज काठमाडौँमा २०औँ ‘नेपाल गौरव यात्रा तथा गाईजात्रा उत्सव’ मनाएका छन् । यौनिक लैङ्गिक अल्पसङ्ख्यक समुदायले अधिकारको माग गर्दै राष्ट्रिय गाईजात्रालाई अन्तर्राष्ट्रियरूपमा सन् २००१ देखि मनाउँदै आएका छन् ।

‘गाईजात्रा’ पर्वको अवसरमा नेपालस्थित अमेरिकी दूतावास र राइट टु राइट हेयर नामक संस्थाको सहयोगमा नीलहिरा समाजले गाईजात्रा उत्सवसँगै गौरव यात्राको आयोजना गरेको हो । एक वर्षभित्र दिवङ्गत भएका आफ्ना समुदायका व्यक्तिहरूको सम्झनामा समाजले सप्तरङ्गी दीप प्रज्वलन गर्दै गौरव यात्राको सुरुआत गरेको थियो । 

कार्यक्रममा सहभागी महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका मन्त्री सुरेन्द्रराज आचार्य, नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्पसन, डेनिस राजदूतावासका प्रतिनिधिलगायतले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायलाई सम्मान, माया र सदभाव व्यक्त गर्न सचेतना जगाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएकोप्रति खुसी व्यक्त गरे। 

‘गौरव यात्रा’ अर्थात् प्राइड परेडलाई सहयोग गर्न पाउँदा काठमाडौँस्थित अमेरिकी दूतावासलाई गर्व महसुस भएको राजदूत थम्पसनले बताए। उनले भने, ‘यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकका जीवनको सम्मान गर्दै आज हामी गर्वका साथ हिँडेका छौँ । समाजमा उनीहरूको योगदान, सङ्घर्ष र सफलताबारे चिन्तन गर्न यो एउटा महत्त्वपूर्ण अवसर हो ।’

कार्यक्रममा नीलहिरा समाजकी अध्यक्ष पिङ्की गुरुङले समुदायका व्यक्तिमाथि विभेद र अपमानपूर्ण व्यवहारका कारण विभिन्न समस्या बढ्दै गएकोप्रति दुःख व्यक्त गरिन् । ‘दुई दशकको सङ्घर्षमा हामीले धेरै अधिकार प्राप्त त गरिसकेका छौँ तर अझै पनि समाजको दृष्टिकोण फेरिएको छैन । सम्मानपूर्वक बाँच्ने वातावरण सबै नागरिकले बनाइदिनुहुन्छ भन्ने अपेक्षा गरेका छौँ’, अध्यक्ष गुरुङले भनिन्। 

ठमेलबाट सुरु भएको गौरव यात्रा वसन्तपुर, न्यूरोड हुँदै टुँडिखेलमा पुगेर समापन भएको थियो । सोही अवसरमा टुँडिखेलमा ‘गाईजात्रा प्राइड परेड कन्सर्ट’ मा समुदायका कलाकारसँगै गायक प्रकाश सपुत, कुटुम्ब ब्याण्ड, गायिका सुवानी मोक्तान, एलिना चौहानलगायतले साङ्गीतिक प्रस्तुती दिए। 

कार्यक्रममा मानवअधिकारको सम्मानका निम्ति गरिएको वर्षौंको सङ्घर्ष र यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका सदस्यको कानूनी समानताका लागि जारी प्रयासका साथसाथै उपलब्धिको स्मरणमा गरिएको थियो । वार्षिकरूपमा आयोजित यी कार्यक्रमले स्वीकार्यता, विविधता र प्रेमको महत्त्वबारे सशक्त भूमिका निभाउने विश्वास आयोजकको छ । उत्सवमा देशभरका यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको उपस्थिति थियो । 
 

प्रतिक्रिया