नेपालगञ्जमा खुल्यो सिनेमा थिएटर ‘सिनेरोयल’ 

राम्रो अनलाइन     १७ साउन २०८०, बुधबार
नेपालगञ्जमा खुल्यो सिनेमा थिएटर ‘सिनेरोयल’ 

 

काठमाडौं– नेपालगञ्‍जमा सिनेमा थिएटर सिनेरोयल सञ्‍चालनमा आएको छ । आधुनिक प्रविधि, सुविधाजनक बसाइ, इमर्सिभ साउन्ड र भव्य वातावरणका कारण सिनेरोयलले नेपालगञ्‍जमा सिनेमा थिएटरका लागि अभूतपूर्व बेन्चमार्क स्थापित गरेको छ । 

तीनवटा अडिटोरियममा पाँच सय ६० सिटहरूका साथ सिनेरोयल आधुनिक कला डेको नमुना पनि हो । अमेरिकाबाट आयातीत सबै अडिटोरियममा नेपालकै पहिलो जेबिएल एटमोस साउन्ड सिस्टम रहेको छ । 

सबै अडिटोरियममा प्रक्षेपण प्रणाली बेल्जियमबाट २० हजार लुमेन्स बारका प्रोजेक्टरहरू ग्यालालाइट मिराज ३।२ थ्री डी प्रिजम सिल्भर स्क्रिन र हङकङबाट ३ बिम गेट–डी थ्री डी प्रणालीका साथ छन् । जसले एक उत्कृष्‍ट गुणस्तरको पिक्चर र रङ संयोजन प्रदान गर्छ ।

नेपालमै पहिलोपटक मलेसियाबाट आएको स्पेक्ट्रम सिटिङसँगै सिटिङ कम्फर्टलाई प्राथमिकता दिइएको छ । थिएटरले आफ्ना सबै थिएटरहरूमा रिक्लाइनर, लाउन्जर र स्लाइडर सिटहरूको आरामदायी मिश्रण प्रदान गर्छ । 

थिएटरले नेपालको पहिलो स्वचालित जिडिसी थिएटर व्यवस्थापन प्रणाली पनि प्रयोग गर्छ, जसले मल्टिप्लेक्समा केन्द्रीकृत नियन्त्रण सुनिश्‍चित गर्छ ।

यसअघि नेपालगञ्‍जमा करिव आठ करोड लगानीमा सुविधासम्पन्‍न बागेश्‍वरी सिनेमा हल सञ्‍चालनमा आएको थियो । बागेश्‍वरी सिनेमा हल बहुचर्चित चेन ब्रान्ड क्यूएफएक्सले व्यवस्थापन गरिरहेको छ ।

प्रतिक्रिया