काठमाडौं । ८ लाख डोज कोरोना भाइरसविरूद्धको भ्याक्सिन सोमबार काठमाडौँ आइपुग्ने भएको छ। सो मात्राको भ्याक्सिन उत्तरी छिमेकी चीनले अनुदानमा दिएको हो ।
भ्याक्सिन ल्याउन नेपाल वायुसेवा निगमको वाइडबडी ३३० जहाज चीनको राजधानी बेइजिङ गएको छ।
जहाज सोमबार बेइजिङको स्थानीय समयानुसार अपराह्न ४ः३० बजे काठमाडौँका लागि उड्नेछ । र राति ८ः३५ बजे त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा जहाज अवतरण गर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
चैत १ गतेको मन्त्रिपरिषद्को बैठकले मित्रराष्ट्र चीनबाट प्रदान गरिने कोभिड–१९ विरुद्धको खोप भेरासेललगायत सहायता सामग्री स्वीकार गर्ने निर्णय गरेको थियो।
सरकारी निर्णयबमोजिम आठ लाख मात्रा कोभिडविरुद्धको खोपलगायत सहायता सामग्री लिन निगमको जहाज बेइजिङ गएको निगमकी प्रवक्ता करिश्मा श्रेष्ठले जानकारी दिइन्।
सरकारी निर्णयबमोजिम स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसँगको समन्वयका आधारमा नेपालीका लागि अत्यावश्यक एवं महत्वपूर्ण कोभिड–१९ सँग सम्बन्धित स्वास्थ्य सामग्री लिन निगमको वाइड बडी जहाज प्रयोग गर्ने निगमको निर्णय भएको र सोहीअनुरुप जहाज गएको हो ।
निगमको ए ३३० जहाज काठमाडौँ–बेजिङ–काठमाडौँ उडान कूल ब्लक १२ घन्टा पाँच मिनेट रहनेछ। निगमले कोभिडविरुद्धको खोप लिन पहिलो पटक उडान गरेको हो ।
निगमको जहाजले यसअघि पनि नेपालमा कोभिड महामारी उच्च भएका बेला पनि बेजिङ तथा ग्वाङ्जाओबाट स्वास्थ्य सामग्री ल्याएको थियो। निगमले अन्तरराष्ट्रिय गन्तव्यमा दुई थान वाइड बडी ए ३२० जहाज र दुई थान न्यारो बडी ए३३० जहाजमार्फत सात देशका नौ गन्तव्यमा उडान भर्दै आएको छ।