नवनियुक्त प्रधानन्यायाधीश कार्कीद्वारा पदवहाली

राम्रो अनलाइन     ०१ असार २०८०, शुक्रबार
नवनियुक्त प्रधानन्यायाधीश कार्कीद्वारा पदवहाली


काठमाडौँ–नवनियुक्त प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले पदवहाली गरेका छन्।  राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनीयताको सपथ लिनुभएपछि कार्कीले आजै सर्वोच्च अदालत पुगेर पदवहाली गरेका हुन् । पदबाहालीपछि कुरा गर्दै उहाँले आफ्नै संयोजकत्वमा न्यायपालिका सुधारका लागि बनेको प्रतिवेदन कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरे । साथै  न्यायपालिकाको अधिकार क्षेत्र पुनरावलोन गर्ने उनको भनाइ छ । 

‘प्रतिवेदनको जगमा बसेर कार्ययोजना बनाएको छु, प्रतिवेदन सर्वोच्चलगायत सबै अदालत र सरोकारवाला सबैको समर्थनमा तयार भएको हो’, उनले भने, ‘सबैको सहयोग र सहकार्यबाटै यसलाई टुङ्गोमा पुर्‍याउन सकिन्छ ।’

उनले आफ्नो कार्यकाल छोटो हुनु र नहुनुभन्दा पनि न्यायापालिकालाई कसरी अगाडि बढाउने भन्ने विषय मुख्य रहेको बताए । उनले भने, ‘न्याय ढिलो हुन्छ, सर्वोच्च अदालतले न्याय दिन ढिलाइ गर्छ, लामो समय लाग्छ भन्ने कुरालाई सम्बोधन गर्नका लागि प्रतिवेदनअनुसार काम गर्छौं ।’

उनले न्यायाधीश र कर्मचारीको सरुवा, बढुवा, काजलगायत ठोस र वस्तुगत आधारमा देखिने गरी अघि बढाउने बताए । प्रधानन्याधीश कार्कीले न्यायाधीश नियुक्तिको सवालमा सम्बोधन गर्नका लागि न्यायाधीशको योग्यता अभिवृद्धिका लागि न्यायिक एकेडेमीमा ‘जज कोर्स’ सञ्चालनका लागि अध्ययन भइरहेको  जानकारी दिए।  
 

प्रतिक्रिया