काठमाडौँ–सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले राजनीतिक व्यवस्था परिवर्तन र लोकतन्त्रको रक्षामा नेपाली पत्रकारिताले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताएकी छिन्। आठौँ राष्ट्रिय पत्रकारिता दिवसको अवसरमा आयोजित कार्यक्रममा उनले विभिन्न राजनीतिक आन्दोलनमा जनतामा जागरण ल्याउन पत्रकारिताले एतिहासिक भूमिका निर्वाह गरेको बताइन्।
‘पञ्चायतकालको कालरात्रिमा जनतालाई जागरुक बनाउन नेपाली पत्रकारिता क्षेत्रले निर्वाह गरेको ऐतिहासिक भूमिका हामी युगयुगसम्म सम्झिरहने छौंँ’, उनले भनिन्।
राजनीतिक उपलब्धिलाई संस्थागत गर्ने र यसमार्फत जनताको जीवनस्तरमा रुपान्तरण ल्याउनु राजनीति र पत्रकारिता दुवै क्षेत्रको दायित्व भएको उनको भनाइ छ । उनले समाजका हरेक क्षेत्रमा नकारात्मकताको प्रवृत्ति बढ्दै गएको भन्दै त्यसलाई चिर्न पत्रकारिताको महत्वपूर्ण भूमिका हुनुपर्ने उल्लेख गरिन् ।
‘गलत क्रियाकलापको आलोचना स्वभाविकै भए पनि राम्रा कामलाई पनि नकारात्मक ढङ्ले पस्कने प्रवृत्तिको विकास हुन थालेको छ । यसलाई चिर्दै आमसञ्चारमाध्यमले विभिन्न क्षेत्रमा भइरहेका सकारात्मक प्रयासलाई प्रस्तुत गर्नुपर्छ’, उनले भनिन्।
उनले सञ्चार संस्थाको सवलीकरण र श्रमजीवी पत्रकारको भौतिक तथा पेशागत सुरक्षाप्रति सरकार गम्भीर भएको स्पष्ट पारिन् । आमसञ्चारमाध्यमलाई राष्ट्रिय उद्योग सरह मान्यता दिने, साना लागानीका स्वरोजगारमूलक र गैरनाफामूलक सञ्चारमाध्यमको प्रवद्र्धन सरकारको प्राथमिकतामा रहेको उनको भनाइ छ । श्रमजीवी पत्रकार ऐनको कार्यान्वयनसँगै पत्रकारको दक्षता अभिवृद्धिका लागि सङ्घ र प्रदेशस्तरमा आमसञ्चार प्रशिक्षण प्रतिष्ठान स्थापना लगायतका मुद्दा प्राथमिकतामा रहेको उनले जानकारी दिइन्।
पत्रकार पुरस्कृत
सरकारले राष्ट्रिय पत्रकारिता दिवसका अवसरमा वरिष्ठ पत्रकार राजेन्द्र दाहाल र बलराम थापालाई सम्मान गरेको छ । आठौँ राष्ट्रिय पत्रकारिता दिवसको अवसरमा आज सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको आयोजनामा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सञ्चार मन्त्री रेखा शर्माद्वारा वरिष्ठ पत्रकार सम्मानबाट पत्रकार राजेन्द्र दाहाल र बलराम थापा सम्मानित भएका हुन्।
राष्ट्रिय पत्रकारिता पुरस्कारबाट अन्य छ जना पत्रकारसमेत सम्मानित भएका छन् । सम्मानित हुनेमा पत्रकार अनिता विन्दु, अम्बिका दाहाल, गणेश लम्साल, गम्भीरा सहनी, रामकृष्ण ज्ञवाली र लक्ष्मी आचार्य छन् । मन्त्रालयले निष्पक्ष, उत्तरदायी, खोजमूलक र विश्लेषनात्मक पत्रकारिताको माध्यमबाट राष्ट्रिय हितको प्रवद्र्धन र जनतालाई सुसूचित गराउन योगदान पुर्याएको भन्दै उनीहरुलाई सम्मान गरेको हो ।
पुस्कृत पत्रकार राजेन्द्र दाहालले आमसञ्चार तथा पत्रकारितासम्बन्धी अध्ययन, अनुसन्धान र विश्लेषण गर्ने संस्थाको स्थापना गर्न सरकारको ध्यानआर्कषण गराए । उनले भने, ‘लोकतन्त्रको संरक्षण र सफलताका लागि राम्रो पत्रकारिता जरुरी छ । त्यसका लागि अहिले आमसञ्चारसम्बन्धी अध्ययन, अनुसन्धान र विश्लेषण गर्ने भरपर्दो संस्थाको खाँचो छ । ’
नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोखरेलले आमसञ्चार तथा पत्रकारितामा आवश्यक लगानी र नीति बनाउनतर्फ सरकारको ध्यानआर्कषण गराए।
वरिष्ठ पत्रकारबाट सम्मानित हुनेलाई कदरपत्रसहित रु दुई लाख र राष्ट्रिय पत्रकारिता पुरस्कारबाट पुरस्कृतलाई कदरपत्रसहित रु एक लाख प्रदान गरिएको छ ।