प्रधानमन्त्री त्रिदेशीय फुटबल प्रतियोगिताको उपाधि नेपाललाई

राम्रो अनलाइन     १७ चैत २०७९, शुक्रबार
प्रधानमन्त्री त्रिदेशीय फुटबल प्रतियोगिताको उपाधि नेपाललाई


काठमाडौँ–अखिल नेपाल फुटबल सङ्घको आयोजनामा भएको प्रधानमन्त्री त्रिदेशीय फुटबल कप प्रतियोगिताको उपाधि नेपालले जितेको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको फाइनल खेलमा नेपालले लाओसलाई २–१ गोलअन्तरले पराजित गर्दै उपाधि जितेको हो । 

यस उपाधिसहित नेपालले पाँच हजार अमेरिकी डलर प्राप्त गरेको छ । त्यस्तै उपाविजेता बनेको लाओसले तीन हजार अमेरिकी डलर प्राप्त गर्‍यो । खेलमा पहिलो अग्रता भने लाओसले लिएको थियो । खेलको १७औँ मिनेटमा लाओसका खेलाडी फोउचाङभोङले गोल गरे । तर खेलको २४औँ मिनेटमा नेपालका खेलाडी आयुष घलानले एक गोल फर्काउँदै  खेललाई एक÷एक गोेलको बराबरीमा ल्याए । आयुषले एरिक विष्टले दिएको पासलाई सदुपयोग गर्दै गोल गरेका हुन् ।

पहिलो हाफसम्म एक÷एक गोलको बराबरीमा सकिएको खेलमा नेपालले खेलको दोस्रो हाफमा एक गोल थप्दै च्याम्पियन बन्न सफल भयो । खेलको ८७औँ मिनेटमा नेपालका मनिष डाँगीले गोल गर्दै नेपाललाई २–१ को जित दिलाए । उनले अन्जन विष्टले उपलब्ध गराएको पासमा उत्कृष्ट गोल गरेका हुन् । खेलमा नेपालका मनिष डाँगी प्लेयर अफ द म्याच चुनिए । उनले दुई सय ५० अमेरिकी डलर पाए । 

त्यसैगरी प्रतियोगितामा आयुष घलान सर्वोत्कृष्ट खेलाडी घोषित भए । उपाधिसहित उनले पाँच सय अमेरिकी डलर प्राप्त गरे । प्रतियोगिताको विजेतालाई प्रधानमन्त्री पुष्पकमल दाहाल, राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टङ्कलाल घिसिङलगायतले पुरस्कार प्रदान गरे । प्रतियोगितामा नेपालसहित लाओस र भुटानको सहभागिता रहेको थियो ।

प्रतिक्रिया