उपराष्ट्रपतिमा ३० हजार ३२८ मतभार प्राप्त गरी रामसहायप्रसाद यादव निर्वाचित

राम्रो अनलाइन     ०३ चैत २०७९, शुक्रबार
उपराष्ट्रपतिमा ३० हजार ३२८ मतभार प्राप्त गरी रामसहायप्रसाद यादव निर्वाचित

काठमाडौँ– नेपालको तेस्रो उपराष्ट्रपतिमा जनता समाजवादी पार्टीका नेता रामसहायप्रसाद यादव निर्वाचित भएका छन् । शुक्रबार भएको निर्वाचनमा यादव एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्य र जनमत पार्टीकी नेता ममता झालाई पछि पार्दै उपराष्ट्रपतिमा निर्वाचित भएका हुन् । यादवले ३० हजार ३२८ मतभार प्राप्त गरे । उनले संघीय संसद्‌तर्फ १४ हजार ५३६ र प्रदेशसभातर्फ १५ हजार ७९२ मतभार पाएका छन् ।

प्रतिनिधिसभा, राष्ट्रिय सभा र प्रदेशसभाका सांसदले उपराष्ट्रपतिमा मत दिएका हुन् । प्रतिनिधिसभा, राष्ट्रिय सभा र प्रदेशसभा गरी कुल मतभार ५२ हजार ६२८ रहेको छ । यादवले त्यसको बहुमत अर्थात् २६ हजार ३ सय १४ मतभारभन्दा बढी मत ल्याई निर्वाचित भएका हुन् ।

यस्तै निकटतम् प्रतिस्पर्धी एमाले उम्मेदवार अष्टलक्ष्मी शाक्यले प्रदेशतर्फ ८ हजार ११२ र संघीय संसद्‌तर्फ ८ हजार २१६ गरी कुल १६ हजार ३२८ मत प्राप्त गरिन् । जनमतबाट उपराष्ट्रपतिका उम्मेदवार ममता झाले प्रदेशतर्फ ७२० र संघतर्फ १ हजार ८१७ गरी २ हजार ५३७ मतभार प्राप्त गरेको राष्ट्रपति(उपराष्ट्रपति निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

यस्तै जसपाबाट उपराष्ट्रपतिकी अर्की उम्मेदवार प्रमिला कुमारीले प्रदेशतर्फ ४८ मतभार अर्थात् १ सांसदको मत पाएकी छन् । सत्ता गठबन्धनको आधिकारिक उम्मेदवार रामसहायप्रसाद यादव बनेकाले प्रमिलाले आफ्नो उम्मेदवारी निष्क्रिय भएको घोषणा गरेकी थिइन् ।

उपराष्ट्रपतिमा निर्वाचित यादव बारा(२ बाट निर्वाचित प्रतिनिधिसभा सदस्यसमेत हुन् । उनी जसपाका संसदीय दलका नेतासमेत हुन् । विक्रम संवत २०२७ सालमा बाराको कलैयामा जन्मिएका यादवले बीएस्सी, बीएडसम्मको अध्ययन गरेका छन् । शिक्षण पेसा त्यागेर उनले २०४६ सालपछि नेपाल सद्भावना पार्टीबाट राजनीतिक यात्रा सुरु गरेका थिए ।

त्यसपछि उनी मधेसी जनअधिकार फोरमको संस्थापक रही त्यसको सुरूवातदेखि महासचिवसमेत बने । २०६४ मा बारा(२ बाट संविधानसभा सदस्य निर्वाचित भएका यादव २०७४ र २०७९ को निर्वाचनमा पनि सोही क्षेत्रबाट निर्वाचित भएका हुन् । तीनवटै मधेस आन्दोलनमा सक्रिय सहभागी उनले वन तथा वातावरणमन्त्रीको जिम्मेवारीसमेत सम्हालिसकेका छन् ।

प्रतिक्रिया