समाजवादको पुनरागमन हुँदै छ। किनभने, पश्चिमा समाज जे–जे खराबी देखिए, त्यसविरुद्ध समाजवादले स्पष्ट आलोचना तयार गरेको छ।
दी इकोनोमिस्ट
सन् १९९१ मा सोभियत संघको पतनपछि बीसौँ शताब्दीको वैचारिक लडाइँ सकिएको ठानियो। पुँजीवादले जितेको थियो र समाजवाद बदनाम भएको थियो। समाजवाद आर्थिक असफलता र राजनीतिक दमनलाई जनाउने घृणित शब्द बन्न पुगेको थियो। यो त कोठेबैठक, असफल बनिरहेका राज्य र चिनियाँ कम्युनिस्ट पार्टीको दिक्कलाग्दो विरहगानमा मात्र जीवित रह्यो। तर, ३० वर्षपछि आज सामाजवादको पुनरागमन भएको छ।
आफूलाई लोकतान्त्रिक समाजवादी भन्ने अलेक्जेन्ड्रिया ओकाजिया कोर्टेजले भर्खरै अमेरिकी कंग्रेसको चुनाव जितिन्। उनी नयाँ सनसनी बनेकी छन्। बर्लिन पर्खाल ढल्दा भर्खरै जन्मेकी उनी विश्वव्यापी वित्तीय संकटको बेला हुर्केकी थिइन्। डेमोक्य्राटिक पार्टीबाट अमेरिकी राष्ट्रपतिको आगामी उम्मेदवार वामपन्थी झुकाव राख्ने व्यक्ति नै हुने देखिन्छ। बेलायतमा लेबर पार्टीका कट्टरपन्थी नेता जेरेमी कोर्बिनले पनि चुनाव जितेर प्रधानमन्त्रीको टिकट काट्ने सम्भावना छ।
सोभियत संघको पतनपछि हुर्केको अमेरिकी पुस्ताका लागि समाजवाद घृणित शब्द होइन। ‘ज्याकोबिन’ र ‘ट्रिब्युन’जस्ता प्रकाशनले युवा र सचेतहरूमा यससम्बन्धी बहस चलाएका छन्। बुट्स राइलीको निर्देशनमा बनेको ‘सरी टू बोदर यू’ ले जसरी ट्रेड युनियनको आवश्यकतालाई अरू कुनै फिल्मले देखाउन सकेको थिएन।
समाजवादको पुनरागमन हुँदै छ। किनभने, पश्चिमा समाज जे–जे खराबी देखिए, त्यसविरुद्ध समाजवादले स्पष्ट आलोचना तयार गरेको छ। प्रायः दक्षिणपन्थी राजनीतिक नेताहरू वैचारिक संघर्षलाई त्यागेर उग्र राष्ट्रवाद र अतीतमोहमा फस्न पुगेका छन्। तर, वामपन्थीहरूले नागरिकलाई कसरी शक्तिसम्पन्न बनाउने भन्नेमा ध्यान केन्द्रित गरेका छन्। पुनर्जन्म पाएको यो वामपन्थले केही सही मुद्दा उठाएको छ। यद्यपि, आधुनिक विश्वबारे यो साह्रै नै निराश छ। बजेट, कर्मचारीतन्त्र र व्यपारबारे वामपन्थी नीति अस्पष्ट देखिन्छ।
समाजवादको फर्किनुको महŒव निकै ठूलो छ। सन् १९९० को दशकमा देब्रे ढल्केका पार्टीहरू मूलधारमा फर्किए। बेलायत र अमेरिकाका नेता टोनी ब्लेयर र बिल क्लिन्टनले राज्य र बजारबीचको सम्झौतामा वाम र दक्षिणपन्थी तरिकाभन्दा अलग ‘तेस्रो बाटो’ फेला पारेको दाबी गरे। १९९४ मा कम्पनीहरू सरकारमातहत हुनुपर्छ भन्ने लेबर पार्टीको नीति अन्त्यको घोषणा गर्दै ब्लेयरले भने, ‘मेरो समाजवाद यही हो।’ तर, यसबाट कोही पनि झुक्किएनन्। समाजवादी त झुक्किने कुरै भएन।
आजका वामपन्थी यो तेस्रो बाटो बन्द भइसकेको ठान्छन्। यी नवसमाजवादीमध्ये धेरैजसो मिलेनियल्स (सन् १९८० र ९० को दशकमा जन्मेका) छन्। अमेरिकामा १८ देखि २९ वर्षबीचका ५१ प्रतिशतले समाजवादलाई सकारात्मक नजरले हेर्ने ग्यालपको अध्ययनले बताउँछ। सन् २०१६ को प्राइमरी निर्वाचनमा बर्नी स्यान्डर्सले हिलारी क्लिन्टन र डोनाल्ड ट्रम्पले पाएको संयुक्त मतभन्दा बढी युवापुस्ताको मत पाएका थिए। सन् २०१७ को फ्रान्सेली निर्वाचनमा २४ वर्षमुनिका मतदातामध्ये एकतिहाइले कट्टर वाम उम्मेदवारलाई मत दिएका थिए। तर, यस्ता समाजवादी तन्नेरी हुनैपर्छ भन्ने छैन। कोर्बिनका उग्र समर्थकमध्ये धेरैजसो उनीजत्तिकै पाका छन्।
यस्ता सबै समाजवादीका उद्देश्य पनि आमूल परिवर्तनकारी छैनन्। अमेरिकामा तिनले समग्र स्वास्थ्य सेवाबारे नीति अघि सारेका छन्। तर, यो अन्यत्र अरूले पनि उठाउने सामान्य नीति हो। उग्रवामपन्थीहरू बजार अर्थतन्त्रको फाइदालाई कायम राख्न चाहन्छौँ भन्छन्। युरोप र अमेरिका दुवै स्थानमा वामपन्थ फराकिलो र खुकुलो गठबन्धनका रूपमा कायम छ।
निश्चय नै विश्वभरका समाजवादीहरूको साझा मुद्दा छ। उनीहरूको बुझाइमा असमानता नियन्त्रण गर्नै नसकिने गरी फैलिसकेको छ। अर्थतन्त्र धाँधलीयुक्त छ र यसले सीमित व्यक्तिको स्वार्थलाई मात्र फाइदा गर्छ। यो असमानतालाई सन्तुलनमा ल्याउन राज्यले आय र शक्तिको पुनर्वितरण गर्नुपर्ने पक्षमा जनता छन् भन्ने तिनको विश्वास छ। तिनको विचारमा अदूरदृष्टि र लबिङका कारण सरकारहरूले जलवायु संकटको बढ्दो सम्भावनालाई नजरअन्दाज गरेका छन्। नियामक निकाय, कर्मचारीतन्त्र, कम्पनीलगायत समाज र अर्थतन्त्र चलाउने संस्थाहरूले सामान्यजनको हित रक्षा गर्दैनन्। त्यसैले त्यस्ता संस्थाको ‘लोकतान्त्रीकरण’ हुनुपर्ने मत समाजवादीहरूको छ।
यीमध्ये लबिङको असर र वातावरणप्रतिको बेवास्ताजस्ता केही विषय विवादरहित छन्। गत ४० वर्षमा पश्चिमा विश्वमा असमानता पनि बढेकै छ। अमेरिकामा सबैभन्दा धनी एक प्रतिशतको आम्दानी यो अवधिमा २ सय ४२ प्रतिशतले वृद्धि भएको छ। मध्यम आय हुनेहरूको वृद्धिदर योभन्दा छ गुणा कम छ। तर, मुख्य कुरा के हो भने यो नयाँ वामपन्थले समस्याको गलत कारण पत्ता लगाएको छ। त्यसैले उनीहरूले दिएको समाधानका उपाय पनि धेरैजसो गलत छन्।
असमानता लगातार बढिरहन्छ भनेर सोच्नु ठीक होइन। सन् २००५ र २०१५ को बीचमा अमेरिकामा असमानता कम भएको थियो। २०१७ सम्म मध्यम परिवारको आय तीन वर्षसम्म लगातार १० प्रतिशतले बढेको थियो। रोजगारी अनिश्चित छ भन्ने गरिन्छ। तर, त्यो पनि बढेको थियो। बरु अनिश्चयको प्रमुख स्रोत चाहिँ आगामी आर्थिक संकट हो।
सार्वजनिक विचारबारे पनि समाजवादीहरू गलत निष्कर्षमा पुगेका छन्। के साँचो हो भने, आफ्नै जीवनमाथिको नियन्त्रण गुमाएको महसुस मानिस गरिरहेका छन्। अवसर खुम्चेको छ। असमानताबाट जनता रिसाएका छन्। सबैलाई होइन, धनीलाई कर लगाउनुपर्छ भन्ने विचार बढी लोकप्रिय छ। तथापि आम मानिसमा पुनर्वितरणको व्यापक चाहना भने छैन। यस्तो विचार राख्ने मानिस सन् १९९० मा जति थिए, अहिले पनि उति नै छन्। अमेरिकाले कर्पोरेट कर घटाउने वाचा गरेका अर्बपतिलाई भर्खरै चुनेको छ। बेलायतमा त धनीमानीप्रति सर्वसाधारण अमेरिकीभन्दा बढी सकारात्मक छन्।
वामपन्थीहरूको निष्कर्ष नै निराशावादी छ। अझ तिनले अघि सारेका समाधानका उपाय खर्चालु र राजनीतिक रूपले खतरनाक छन्। वित्तीय नीतिलाई हेरौँ। थुप्रै वामपन्थी धनीमानीमा कर बढाएर सरकारी सेवा विस्तारको खर्च धान्न सकिन्छ भन्ने भ्रम पाल्छन्। वास्तविकता के हो भने, जनसंख्याको उमेर बढ्दै जाँदा मध्यम आय भएकामाथि कर नलगाई खर्च धान्न सकिन्न। ओकाजियो कोर्टेज उच्च आय भएकालाई ७० प्रतिशत कर लगाउने कुरा गर्छिन्। तर, त्यसरी कर लगाउँदा उठ्ने रकम जम्मा १२ अर्ब डलर अर्थात् करबाट जम्मा हुने आयको मात्र ०.३ प्रतिशत हुन आउँछ। अझ केही त ‘आधुनिक मौद्रिक सिद्धान्त’ लाई समर्थन गर्छन्। जसअनुसार सरकारले आफ्न खर्चका लागि कम ब्याजदरमा ऋण लिन पाउँछ। तर असीमित ऋण लिँदा त्यसले अर्थतन्त्रलाई ध्वस्त पार्छ।
बजारमाथि अविश्वास गर्दा समाजवादीहरू वातावरणबारे पनि गलत निष्कर्षमा पुग्छन्। जलवायु परिवर्तनसँग लड्न र निजी क्षेत्रलाई अन्वेषणमा लगाउन राजस्वमा फरक नपर्ने गरी लगाइने कार्बन कर एक मात्र उत्तम तरिका होइन भन्छन् उनीहरू। समाजवादीहरू हरित ऊर्जामा ठूलो योजना र विशाल खर्च गर्न चाहन्छन्।
अर्थतन्त्रलाई ‘लोकतान्त्रीकरण’ गर्ने सामाजवादीहरूको तरिकाले पनि नियामक शक्तिलाई केन्द्रीकृत गर्नेभन्दा फिँजाउने गर्छ। यसले स्थानीयको नियन्त्रण बढाउँछ। व्यापारमा पनि लोकतान्त्रीकरणको चर्चा चुलिँदै छ। वामपन्थीहरू सञ्चालक समितिमा अझ बढी कामदार सहभागी गराउन चाहन्छन्। लेबर पार्टीकै कुरा गर्ने हो भने त उनीहरू कम्पनीको सेयर हत्याएर कामदारहरूलाई दिन चाहन्छन्।
जर्मनीजस्ता देशमा कामदारहरूको सहभागिता रहने प्रचलन पनि छ। तर, समाजवादीहरूले चाहेको कम्पनीमाथिको नियन्त्रण चाहिँ विश्वव्यापीकरणका कारण निम्तिएको आशंकाका कारण जन्मेको हो। परिवर्तनलाई रोक्न कामदारलाई शक्तिशाली बनाउँदा अर्थतन्त्रको विकास रोकिनेछ। आर्थिक अवसरका गतिशीलता आवश्यक पर्छ।
त्यो रोकिँदा घाटा बढी छ। त्यसैले कम्पनी र रोजगारीलाई परिवर्तन हुनबाट रोक्नुभन्दा राज्यले बजारलाई सक्षम बनाउनुपर्छ। रोजगारी होइन, कामदारलक्षित नीति अपनाउनुपर्छ। पुनर्वितरणको नारा लगाउनुभन्दा सरकारले ‘रेन्ट सिकिङ’ प्रवृत्तिलाई घटाउनुपर्छ। शिक्षामा सुधार र प्रतिस्पर्धा वृद्धि गर्नुपर्छ। बजार र सार्वजनिक लगानी दुवैलाई मिलाएर जलवायु परिवर्तनविरुद्ध लड्न सकिन्छ।
यी समाजवादीहरूसँग यथास्थितिविरुद्ध लड्ने ताजा इच्छा छ। तर, पुरानो समयको समाजवादजस्तै यिनीहरू पनि सामूहिक क्रिया भ्रष्ट हुनै सक्दैन भन्ने विश्वास गर्छन् र व्यक्तिको शक्तिमाथि अनावश्यक शंका गर्छन्। त्यसैले उदारवादीहरूले यसको विरोध गर्नुपर्छ।
अनुवादः कवि आचार्य