धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचकमा आज उछाल आएको छ । नेपाल राष्ट्र बैंकले आइतबार चालू आर्थिक वर्षको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा गरेपछि बजारमा थप उछाल देखिएको हो ।
केन्द्रीय बैंकले मौद्रिक नीतिमा केही सुधार एवं संशोधन गर्ने भन्दै हल्ला चलेका कारण आइतबार नेप्सेमा करेक्सन देखिएको थियो । आइतबार ३३.३३ अङ्कले ओरालो लागेको नेप्से आज ९२.४२ अङ्कले बढेर दुई हजार ५८६.०१ मा पुगेको छ । आजको वृद्धिपछि नेप्सेले दुई हजार ६०० को बिन्दु पहिल्याएको छ ।
यस्तै ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १५.३३ बिन्दुले बढेर ४६९.४४ मा पुगेको छ । नेप्सेमा उच्च अङ्कको वृद्धिपछि कारोबार रकम उच्च बिन्दुमा पुगेको छ । कूल २०५ कम्पनीको दुई करोड २४ लाख ४७ हजार १५७ कित्ता शेयर रु १० अर्ब ३८ करोड ४१ लाख ९७ हजार ६६९ मूल्यमा खरिद बिक्री भएको छ ।
आजको कारोबारपछि बजार पूँजीकरण साढे ३५ खर्बमाथि पुगेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार बजार पूँजीकरण रु ३५ खर्ब ६३ अर्ब ३९ करोड ६२ लाख ७० हजारको हाराहारीमा पुगेको छ । कारोबारका आधारमा आज जीवन बीमा, निर्जीवन बीमा, लघुवित्तको शेयरमा लगानीकर्ता आकर्षित भएका छन् । कारोबार भएका १२ उपसमूहको शेयर नै उकालो लागेको छ ।
बैंकिङ ५७.३२, व्यापार ७१.६, होटल २४.१, विकास बैंक ४९.९१, जलविद्युत् ६४.४५, वित्त ३४.७५, निर्जीवन बीमा ४४७.४४, उत्पादन १५९.६६, अन्य ६२.६१, लघुवित्त ३७०.३, जीवन बीमा ६९७.९१, सामूहिक लगानी कोष ०.१८ मा पुगेको छ ।