मतगणना अपडेट : कहाँ को अगाडि को विजयी 

राम्रो अनलाइन     ०६ मंसिर २०७९, मङ्गलबार
मतगणना अपडेट : कहाँ को अगाडि को विजयी 

गोरखा–२ मा दाहालको अग्रता

गोरखा– प्रतिनिधिसभा गोरखा क्षेत्र नम्बर–२मा वाम–लोकतान्त्रिक गठबन्धनका तर्फबाट उम्मेदवार रहनु भएका नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अग्रता कायम राख्नुभएको छ । कूल ८ सय मत गणना हुँदा अध्यक्ष दाहालले पाँच सय १६ मत प्राप्त गरेका छन् । 

साथै, राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार कविन्द्र बुर्लाकोटीले ९१ र नेकपा ( एमाले)का उम्मेदवार अब्दुस मियाले६६ मत प्राप्त गरेका छन् । मतदान सकिएको करिब २७ घण्टापछि मतगणना सुरु भएको हो ।


नवलपरासी पूर्व– १ मा डा शशांक कोइरालाको अग्रता 

मध्यविन्दु– नवलपरासी पूर्वको प्रतिनिधिसभा–१ का उम्मेदवार नेपाली कांग्रेसका डा शशांक कोइरालाले अग्रता कायम गरेका छन् । 

कुल दुई हजार ४४३ मत गणना गर्दा कांग्रेस उम्मेदवार कोइरालाले एक हजार २५५ मत प्राप्त गर्नुभएको छ । साथै, नेकपा (एमाले)का कृष्ण पौडेलले नौ सय १५ मत प्राप्त गरेका छन् । 
    
राष्ट्रिय स्वतन्त्र पार्टीका राजन गौतमले ९६ मत प्राप्त गर्नुभएको छ भने राप्रपाका डा मोहनलाल भुसालले १४ मत प्राप्त गरेका छन् ।

मनाङमा कांग्रेसका टेकबहादुर गुरुङ विजयी

काठमाडौँ– मनाङबाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका टेकबहादुर गुरुङ विजयी भए । गुरुङले उहाँका प्रतिद्वन्द्वी नेकपा (एमाले)का पोल्देन छोपाङ गुरुङलाई तीन सय २८ मतले पराजित गरे  । 

कांग्रेसका गुरुङले दुई हजार पाँच सय ७५ मत प्राप्त गर्नुभयो भने एमालेका उम्मेदवार गुरुङले दुई हजार दुई सय ४७ मत प्राप्त गर्नुभयो । कांग्रेसका केन्द्रीय सदस्य गुरुङ मनाङ कांग्रेसको पूर्व सभापति हुनुहुन्छ । उहाँ पूर्व श्रम राज्यमन्त्री हुन् ।

साथै, राष्ट्रिय स्वतन्त्र पार्टीका मुख्या गुरुङले ५ मत प्राप्त गर्नुभएको छ भने १९ मत बदर भएको छ ।

त्यसैगरी मनाङ प्रदेशसभा १ मा नेपाली कांग्रेसका मुनिन्द्रजङ गुरुङ निर्वाचित भएका छन । प्रदेशसभा २ मा यसअघि नै स्वतन्त्र उम्मेदवार राजिव गुरुङ (दीपक मनाङे) निर्विरोध भएका थिए ।

सिरहाका चार वटै निर्वाचन क्षेत्रमा मतगणना सुरु

लहान– सिराहाका चार वटै निर्वाचन क्षेत्रमा मतगणना सुरु भएको छ । प्रतिनिधिसभा तथा प्रधेशसभाको निर्वाचनको मतदान हिजो सकिए पनि सहमति नहुँदा ढिलो गरी मतगणना सुरु भएको हो ।
    
मुख्य निर्वाचन अधिकृत काजीबहादुर राईका अनुसार बिहान ११ बजेदेखि बसेको सर्वदलीय बैठकमा प्रत्येकवडाको छुट्टाछुट्टै मतगणना गर्नुपर्ने दलहरूको अडानका कारण दिनभर मतगणना हुन नसकेको हो । 

“कुनै वडामा एउटा मात्र मतदान केन्द्र भए अरुमा नमिसाउन र एउटै वडामा धेरै मतदान केन्द्र भए मिसाएर गणना गर्नु भन्ने निर्वाचन आयोगको निर्देशन बमोजिम सर्वदलीय बैठकमा सहमति भएकोछ”, मुख्य निर्वाचन अधिकृत राईले भने ।

उहाँका अनुसार प्रतिनिधिसभा तथा प्रधेशसभाको प्रत्यक्ष र समानुपातिक मतपत्रको गणना एकैसाथ सुरु हुनेछ ।

म्याग्दीमा कांग्रेसको सुरुआती अग्रता
    
गलेश्वर– म्याग्दीमा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मतगणना सुरु भएको छ । बेनीस्थित जिल्ला समन्वय समितिको हलमा केही बेरअघिदेखि गणना सुरु भएको हो ।

मतगणनाको सुरुआती मतगणनामा लोकतान्त्रिक–बाम गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका खमबहादुर गर्बुजा (खम्बिर)ले अग्रता लिएका छन् । धौलागिरि गाउँपालिका–१ गुर्जाको चार सय आठ मत गणना गर्दा नेपाली कांग्रेसका गर्बुजाले तीन सय आठ मत प्राप्त गरेका छन् । 
    
त्यस्तै नेकपा एमालेका उम्मेदवार हरिकृष्ण श्रेष्ठले ७७ मत प्राप्त गर्नुभएको छ भने राष्ट्रिय स्वतन्त्र पार्टीले आठ र राप्रपाले तीन मत प्राप्त गरेका छन् । 

जिल्लामा ८६ हजार एक २० मतदाता रहेकोमा ५० हजार छ सय २५ मत खसेको थियो ।

तनहुँका दुई स्थानमै काङ्ग्रेसको अग्रता

दमौली– तनहुँका प्रतिनिधिसभाका दुई वटै क्षेत्रमा नेपाली कांग्रेसले अग्रता लिएको छ । 

हाल जारी मतगणनामा प्रतिनिधिसभा अन्तर्गत तनहुँ १ मा नेपाली कांग्रेसका रामचन्द्र पौडेलले ९४४ मत प्राप्त गर्नुभएको छ भने उहाँका प्रतिस्पर्धी नेकपा (एमाले)का एकबहादुर रानाले ६०३ मत प्राप्त गरेका छन् । 

राष्ट्रिय स्वतन्त्र पार्टीका विकास सिग्देलले २६१, राप्रपाका विनोद घर्तीले २२६ र स्वतन्त्र उम्मेदवार गोविन्दराज जोशीले १४८ मत प्राप्त गरेका छन् । 

तनहुँ १ प्रदेश १ तर्फ वाम लोकतान्त्रिक गठबन्धनबाट नेपाली कांग्रेसका अशोककुमार श्रेष्ठले ५९९, नेकपा (एमाले)का रामबहादुर गुरुङले ३७५ मत प्राप्त गरेका छन् । 

तनहुँ १ प्रदेश २ तर्फ वाम लोकतान्त्रिक गठबन्धनबाट नेकपा (माओवादी) केन्द्रका हरिबहादुर चुमानले एक हजार १०४ र नेकपा (एमाले) का पूर्ण गुरुङले ४७० मत प्राप्त गरेका छन् । 

तनहुँ क्षेत्र नम्बर २ अन्तर्गत प्रतिनिधिसभामा वाम लोकतान्त्रिक गठबन्धनबाट नेपाली कांग्रेसका शङ्कर भण्डारीले अग्रता लिएका छन् । भण्डारीले छ हजार एक सय २१ मत प्राप्त गर्दा प्रतिस्पर्धी नेकपा (एमाले)का किरण गुरुङले चार हजार दुई सय ३५ मत प्राप्त गरेका छन् । 

यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका विजय जोशीले नौ सय १८, हाम्रो नेपाली पार्टीका विष्णु पराजुलीले एक सय ८५ र राप्रपाका नरेन्द्रप्रताप महतले २०६ मत प्राप्त गरेका छन् । 

प्रदेशसभा १ तर्फ नेकपा (माओवादी) केन्द्रका राजेन्द्रकेशरी न्यौपानेले दुई हजार ८२ मत प्राप्त गर्दा नेकपा (एमाले)का श्यामराजा महतले एक हजार सात सय ४४ मत प्राप्त गरेका छन् । 
प्रदेशसभा २ तर्फ नेकपा (एमाले)का केदार सिग्देलले सात सय ७६ मत प्राप्त गर्दा नेपाली कांग्रेसका जीतप्रकाश आलेले ६४७ मत प्राप्त गरेका छन् ।
 

कैलाली–२ मा नागरिक उन्मुक्ति पार्टीको अग्रता
 
अतरिया– कैलालीको क्षेत्र नं २ मा नागरिक उमुक्ति पार्टीको अग्रता कायमै छ । आज राति साढे ११ बजेसम्मको मतगणनाअनुसार नागरिक उनमुक्ति पार्टीका अरुणकुमार चौधरीले ६६३ मत प्राप्त गरेका छन्  । 

साथै नेकपा (माओवादी केन्द्र)का भगत बडुवालले २५३ र नेकपा (एमाले) का झपट रावलले १७५ मत प्राप्त गरेका छन् । 

मकवानपुर १ मा कांग्रेस र २ मा एमालेको अग्रता

हेटौँडा– मकवानपुर निर्वाचन क्षेत्र नं १ मा प्रतिनिधिसभा सदस्यका लागि नेपाली कांग्रेसकी महालक्ष्मी उपाध्याय (डिना)ले अग्रता कायम राखेकी छिन् ।

गणना भएको पाँच हजार ३० मतमध्ये सत्ता गठबन्धनका साझा उम्मेदवार उपाध्यायले दुई हजार ४७७ मत प्राप्त गरेकी छिन् । उनलाई नेकपा (एमाले)का उम्मेदवार तथा राप्रपा नेपालका अध्यक्ष कमल थापाले एक हजार ६४३ मतसहित पछ्याएरहेका छन् । राप्रपाउम्मेदवार दीपक सिंहले तीन सय ७३ मत प्राप्त गरेका छन् । 

प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं २ मा नेकपा (एमाले)का महेशकुमार बर्तौलाले अग्रता लिएका छन्   ।गणना भएको छ हजार ५१८ मतमध्ये बर्तौलाले दुई हजार ७३३ मत प्राप्त गरेका छन् । सत्ता गठबन्धनका साझा उम्मेदवार विरोध खतिवडाले दुई हजार ६८६ मत र राष्ट्रिय स्वतन्त्र पार्टीका भरत पराजुलीले पाँच सय ३४ मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया