भरतपुर–निर्वाचन आयोगले मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको समाचार सङ्कलन तथा सम्प्रेषण तथ्यपरक हुनुपर्नेमा जोड दिएको छ । राष्ट्रिय समाचार समितिको सहकार्यमा निर्वाचन आयोगले चितवनको भरतपुरमा आयोजना गरेको प्रदेशस्तरीय मिडिया अभिमुखीकरण कार्यक्रम उद्घाटन गर्दै आयोगका सचिव गोकर्णमणि दुवाडीले लोकतन्त्रमा सञ्चारकर्मी एवं सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण हुने भन्दै समाचार सम्प्रेषणमा ध्यान दिन आग्रह गरे ।
निर्वाचनसँग सम्बन्धित सूचना सम्प्रेषणलाई सहज बनाउन आयोग प्रतिबद्ध रहेको उल्लेख गर्दै उनले यसका लागि आयोगले विशेष व्यवस्था गरेको बताउनुभयो । आचारसंहिता पालना गर्ने गराउने काममा सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण हुने बताउँदै सचिव दुवाडीले भने, ‘सञ्चारमाध्यम र सञ्चारकर्मी पनि आचारसंहिता अनुगमनकर्ता हो ।’
आयोगले लागू गरेको निर्वाचन आचारसंहिता उल्लङ्घन भएको देखेमा आयोगमा सूचना दिन सचिव दुवाडीले सञ्चारकर्मीसँग आग्रह गरे । स्थानीय तह निर्वाचनमा सञ्चारमाध्यम र सञ्चारकर्मीले खेलेको भूमिकाको प्रशंसा गर्दै उहाँले आयोग मिडियासँग सहकार्य गरेर नै अघि बढिरहेको बताए ।
निर्वाचनका बेला सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने मिथ्या सूचना, दुष्प्रचार र द्वेषपूर्ण अभिव्यक्तिलाई निरुत्साहित गर्न आयोगले संयन्त्र निर्माण गरेको बताउँदै सचिव दुवाडीले फेसबुकको मातृ कम्पनी मेटासँगै अन्य टेक कम्पनीसँग सहकार्य भइरहेको बताए । सचिव दुवाडी सञ्चारमाध्यम र सञ्चारकर्मीलाई संयमित, विश्वसनीय र तथ्यपरक सूचना मात्र सम्प्रेषण गर्न आग्रह गरे ।
निर्वाचनसम्बन्धी रिपोर्टिङ गर्दा आधिकारिक सूचना लिने र त्यसलाई तथ्य जाँच गर्न भुल्न नहुने भन्दै उनले आयोगको नीति, विद्यमान कानून र जारी गरिएका निर्देशिकालगायत आयोगको प्रवक्ता, सहायक प्रवक्ता, प्रेस विज्ञप्ति, इ–बुलेटिनलाई निरन्तर पछ्याउन गर्न आग्रह गरे । सचिव दुवाडीले निर्ममताका साथ आचारसंहिता पालना गर्न र कार्यान्वयन गराउन मुख्य निर्वाचन अधिकृत र प्रमुख जिल्ला अधिकारीलाई आग्रह गरे ।
कार्यक्रममा चितवनका मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाले स्थानीय तहको निर्वाचनमा भएको अनुभवलाई कार्यान्वयन गर्दै प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा थप व्यवस्थित गर्दै लैजाने बताए । सञ्चार जगत लोकतान्त्रिक अभ्यासको एउटा अभिन्न अङ्ग भएको भन्दै यसले निर्वाचनलाई निष्पक्षरुपमा सम्पन्न गर्न महत्वपूर्ण भूमिका खेल्ने बताए । निर्वाचनका क्रममा उत्पन्न हुने जटिलतालाई आपसी समन्वयमा समाधान गर्दै अघि बढिने उनको भनाइ छ ।
कार्यक्रममा चितवनका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले सञ्चारकर्मी विवेकशील सिपाइ रहेको भन्दै निर्वाचन सम्पन्न गर्न सुरक्षाकर्मीको जत्तिकै भूमिका रहेको बताए । उनले प्राविधिक कारणले हुने र जानअञ्जानमा हुने कमजोरीलाई शिक्षाकारुपमा लिँदै सुधार गरेर अगाडि बढ्नुपर्ने उल्लेख गरे ।
कार्यक्रममा पत्रकार महासङ्घ चितवन शाखाका अध्यक्ष नारायण अधिकारीले निर्वाचनका क्रममा पत्रकारलाई निर्धक्क भएर रिपोर्टिङ गर्ने व्यवस्था मिलाइदिन आग्रह गरे । उनले यसअघिका निर्वाचनमा विभिन्न कारणले पत्रकारले सास्ती खेप्नुपरेको भन्दै नागरिकले सही सूचना प्राप्त गर्ने अधिकारको सुनिश्चिता गर्न माग गरे ।
अभिमुखीकरण कार्यक्रममा निर्वाचन अयोगका उपसचिव एवं सहायक प्रवक्ता कमल भट्टराईले आयोगले गरेका काम, तयारी र निर्वाचन आचारसंहिताका विषयमा जानकारी गराएका थिए । उनले मिथ्या सूचना, दुष्प्रचार र द्वेषपूर्ण अभिव्यक्तिलाई प्राथमिकता नदिन सञ्चारकर्मीलाई आग्रह गरे ।
आयोगको सूचना सम्प्रेषण संयन्त्रको प्रयोग गरी निर्वाचनमा तथ्यपरक रिपोटिङ गर्न भट्टराईले अनुरोध गरे । उनले पहिलोपटक केबुल टेलिभिजन नेटवर्क तथा इन्टरनेट सेवा प्रदायकलाई समेत आचारसंहिता कार्यान्वयनमा जिम्मेवार बनाइएको बताए । उनले आचारसंहिता पालना भए नभएको अनुगमन भइरहेको पालना नभए हदैसम्मको कारबाहीका लागि आयोग तयार रहेको बताए ।
यस्तै राष्ट्रिय समाचार समिति (रासस) का नायब महाप्रबन्धक श्यामप्रसाद रिमालले निर्वाचनमा ‘मिडिया र पत्रकारका’ भूमिकाका विषयमा प्रशिक्षण दिएका थिए । निर्वाचन आफ्नो शासनका आफैँ छान्ने विधि भएको भन्दै स्वच्छ, स्वतन्त्र र भयरहित निर्वाचनका लागि पत्रकारले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने बताए । निर्वाचनमा दल वा उम्मेदवारको छनोटका बारेमा आम जनतालाई सजग बनाउन सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण हुन्छ । उनले भने, ‘स्वच्छ रिपोर्टिङलाई सुनिश्चित गर्न सञ्चारमाध्यम निष्पक्ष हुनुपर्छ ।’ निर्वाचनका बेला समाचारको पक्षपातरहित प्रस्तुति हुनुपर्ने भन्दै पूर्वाग्रही र मतदातालाई भ्रम पर्ने खालका सामग्री प्रकाशन गर्न नहुनेमा उनले जोड दिए ।
रिमालले विनास्रोतका समाचार प्रकाशन तथा प्रसारण नगर्न अनुरोध गर्दै मतदाताको मत दिने अधिकार र उम्मेदवारको मत माग्ने अधिकारका विषयमा सचेत बन्नुपर्ने बताए । जनबोलीलाई समाचारको भाषा बनाउनुपर्ने भन्दै उनले सबैले बुझ्ने खालको सरल भाषाशैली अपनाउन सञ्चारकर्मीलाई आग्रह गरे । सो अवसरमा विदेशमा अपनाइएको निर्वाचनको अभ्यास र नेपालमा भइरहेको प्रयोगका विषयमा समेत रिमालले जानकारी गराएका थिए । कार्यक्रममा जिल्लाका क्रियाशील पत्रकारको उपस्थिति थियो ।