भ्यालेन्टाइन्स डे भन्नेबित्तिकै धेरैको ध्यान रातो रङमा जान्छ। यस दिन रातो गुलाब दिएर प्रेम प्रस्ताव राखिन्छ। रातो रङलाई प्रेमको प्रतीक मानेर धेरै युवायुवतीले यो दिन रातो रङको पहिरन लगाउन रुचाउँछन्। तर, भ्यालेन्टाइन्स डेको पहिरन रातो रङमा मात्रै सीमित छैन। यस दिनमा अरूभन्दा फरक देखिन फ्युजन गरेर पनि ड्रेसअप गर्न सकिन्छ।
रातो रङको पहिरन लगाउन चाहनेहरूका लागि वानपिस उपयुक्त मानिन्छ। दिनको पार्टीका लागि भने रातो लङ गाउन आकर्षक देखिन्छ। गाउन वा वानपिस लगाउन नरुचाउनेहरूले रातो टप्स लेगिङ्स वा स्किनी जिन्सको प्रयोग गर्न सक्छन्। साथै, भित्रपट्टि ट्युब लगाएर बाहिर रातो कोट लगाउन सकिन्छ। अन्य रङमा गुलाबी, कलेजी वा कुनै पनि चम्किला रङलाई रातो रङसँग मिलाएर लगाउन सकिन्छ।
महिलाको ड्रेसअप
१ रातो वानपिस ड्रेससँग कालो रङ र गोल्डेन रङको एक्सेसरिज लगाउन सकिन्छ।
२ प्रेम दिवसका दिन जिन्स लगाउन चाहनेले रातो टप्स र सर्ट लगाउन सक्छन्।
३ लङ सर्ट प्रयोग गर्न चाहनेले सर्ट स्कर्ट, प्यान्ट वा लेगिङ्ससँग लगाउँदा राम्रो देखिन्छ। रातो सादा टिसर्टसँग ब्लेजर लगाएर यसमा फ्लोरल अथवा स्ट्राइप दुवै किसिमको प्रिन्टेड लङ टिसर्ट लगाउन सकिन्छ।
४ रातो हल्टर नेक वानपिससँग कालो नेट आउटर लगाएर ग्ल्यामरस लुक पाउन सकिन्छ। यस्तो ड्रेसअपमा कर्ली हेयरस्टाइल पर्फेक्ट देखिन्छ।
५ प्रेम दिवसमा सारी लगाउन चाहनेले सिफन वा जर्जेटको सादा सारी स्टाइलिस ब्लाउजसँग लगाउँदा राम्रो देखिन्छ। र, कपालको साइडमा रातो गुलाब लगाउनाले अझै आकर्षक देखिन सकिन्छ।
६ कुर्ता–सुरुवाल लगाउन चाहनेले रातो अनारकली कुर्ता–सुरुवालमा हरियो सलको प्रयोग गर्न सक्छन्। यो पहिरनमा पातलो स्ट्रेप भएको घडी राम्रो देखिन्छ।
७ भ्यालेन्टाइन्स डेमा रातो सादा टप्स र हाई नेकसँग रंगीचंगी ट्राउजर्स प्रयोग गर्न सकिन्छ।
८ कुर्ती मन पराउनेले चम्किलो रातो रङको कुर्ती जिन्स अथवा लेगिङ्ससँग लगाउन सक्छन्।
९ प्रिन्टेड ड्रेस रुचाउनेले भ्यालेन्टाइन्स डेमा प्रिन्टेड टप्ससँग प्रिन्टेड लेगिङ्स मिलाएर लगाउन सक्छन्। यसमा सादा र सोलिड रङको एक्सेसरिज लगाउनुपर्छ।
१० सादा ड्रेससँग मिल्ने एक्सेसरिज पाउन मुश्किल हुन्छ। त्यसैले सादा पहिरनसँग चम्किला रङका एक्सेसरिज, जुत्ताचप्पल र फ्लोरल अथवा एनिमल प्रिन्टेड बेल्ट प्रयोग गर्नुपर्छ।
यसै गरी रातो ड्रेससँग कालो, सिल्भर, गोल्डेन वा रातै रङका जुत्ताको प्रयोग गर्न सकिन्छ। आफूलाई सजिलो हुनेसम्म हिल लगाउँदा राम्रो हुन्छ। डान्स पार्टीमा हाई हिलको प्रयोग नगर्दा राम्रो। फंकी देखिन चाहने युवतीले पहिरनसँग सुहाउँदो लङ र ट्रेन्डी इयररिङ प्रयोग गर्न सक्छन्। शालीन लुकका लागि टप र साइनी इयररिङ लगाउन सकिन्छ। यो विशेष दिनमा फ्लावरी लुक चाहनेले रातो गाउन वा ड्रेससँग कानमा आर्टिफिसियल (क्लोथ रोज टप) लगाउन सक्नेछन्। फ्रेस रोज रुचाउनेले ताजा गुलाब कपालमा जुरो बनाएर राख्दा राम्रो देखिन्छ।
भ्यालेन्टाइन्स डेको पार्टीका लागि रेड नी लेन्थ वानपिससँग रेड लाइट हिल प्रयोग गर्न सकिन्छ। त्यसमा क्रस कम्बिनेसन गर्न ब्ल्याक हिल पनि प्रयोग गर्न सकिन्छ। त्यस्तै, रेड (फुललेन्थ, हल्टर नेक, क्वार्टर लेन्थ) टप्ससँग कालो वा अन्य रङको लेगिङ्स प्रयोग गर्न सकिनछ। ब्याग, जुत्ता, इयररिङलगायत एक्सेसरिज ड्रेससँग मिलाएर लगाउनुपर्छ।
पुरुषको ड्रेसअप
१ फिल्म हेर्न जाँदै हुनुहुन्छ भने क्याजुअल ड्रेसअप राम्रो देखिन्छ।
२ हिपअप लुकका लागि जिन्ससँग भी नेक टिसर्ट लगाउन सकिन्छ।
३ दिनको डेट हो भने चम्किला पहिरन नलगाउँदा बेस। बरु, हलुका रङका पहिरन लगाउँदा राम्रो देखिन्छ।
४दिनमा स्पोर्टी लुक पनि अपनाउन सकिन्छ। यसका लागि ब्यागी जिन्ससँग भी नेक टिसर्ट लगाउनुपर्छ।
५ बेलुकाको डेट हो भने मरुन वा वाइन रेड रङको सर्ट वा टिसर्टसँग कालो रङको जिन्स एकदमै राम्रो देखिन्छ।