राजनीतिक दलबारे अध्ययन गर्दै निर्वाचन आयोग 

राम्रो अनलाइन     ०१ भदौ २०७९, बुधबार
राजनीतिक दलबारे अध्ययन गर्दै निर्वाचन आयोग 

 

काठमाडौँ– निर्वाचन आयोगले आजदेखि राजनीतिक दलका बारेमा जाँच सुरु गर्ने भएको छ। प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा भाग लिन चाहने दलले हिजोसम्म दिएको निवेदनको आजबाट अध्ययन सुरु गर्नेछ।

मंसिर ४ को निर्वाचनका लागि साउन २२ देखि साउन ३१ सम्म दल दर्ताको निवेदन दिन आयोगले माग गरेको थियो। ‘यी सबै दललाई निर्वाचनमा सहभागी हुन पाउने÷नपाउनेबारे आजबाट आयोगले अध्ययन गर्छ,’ आयोगका प्रवक्ता शालिकराज शर्माले भने,‘आजबाटै काम सुरु गर्छौ।’

शर्माका अनुसार यसपटक दलहरूले प्रत्यक्ष निर्वाचितभन्दा समानुपातिक उम्मेदवारको सूची छिट्टो बुझाउनु पर्नेछ। समानुपातिकमा उम्मेदवार धेरै हुने र आयोगलाई ‘होमवर्क’ गर्न गाह्रो हुने भएकाले छिट्टो सूची बुझाउन आयोगले अनुरोध गरेको हो।

आयोगले तोकेको अवधिमा आयोगमा दल दर्ताका लागि ८४ दलले निवेदन दिएका छन्। आयोगमा १२ दलले चार चुनाव चिह्न लिएर संयुक्तरूपमा लड्ने भएका छन्।  शर्माका अनुसार दलहरूले संयुक्त रूपमा निर्वाचनमा जान आयोगमा निवेदन दिएका हुन्।  

पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको माओवादी केन्द्र र डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीले एउटै चुनाव चिह्नमा प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा सहभागी हुने निर्णय गरेका छन् ।

त्यस्तै नेपाल कम्युनिष्ट पार्टी राष्ट्रवादी, समाजवादी केन्द्र नेपाल, आधुनिक नेपाल समाजवादी पार्टीले पनि एउटै चुनाव चिह्नमा चुनाव लड्नेछन् । नेकपा ( समाजवादी), सामाजिक एकता पार्टी र नेपाल दलित पार्टी तथा नेपाल आमा पार्टी, नेपाल नौलो जनवादी पार्टी, सचेत नेपाली पार्टी र रमेश प्रसाद खरेलको नेपाल सुशासन पार्टीले पनि एउटै चुनाव चिह्नबाट चुनावमा भाग लिने भएका छन् ।

प्रतिक्रिया