काठमाडौँ– इंग्लिस प्रिमियर लिगमा च्याम्पियन म्यानचेस्टर सिटी र आर्सनलले विजयी यात्रालाई जारी राखेका छन्। शनिबार भएको दोस्रो चरणका खेलमा सिटीले बर्नमाउथलाई ४–० ले पराजित गर्यो भने आर्सनलले लेस्टर सिटीमाथि ४–२ को जित दर्ता गर्यो।
सिटीको जितमा एल्काई गुन्डोगनले १९ औँ, केभिन डे ब्रुएनाले ३१ औँ र फिल फोडनले ३७ औँ मिनेटमा गोल गरेका थिए। दोस्रो हाफमा सिटीका कुनै खेलाडीले गोल गर्न सकेनन्। तर जेफरसन लार्माले आत्मघाती गोल गरेपछि सिटी ४–० ले विजयी भयो। गत साता वेस्टह्यामसँगको खेलमा दुई गोल गरेका एर्लिङ हालान्डले यसपल्ट गोल गर्न सकेनन्। तर उनको नाममा एक असिस्ट रह्यो। उनकै पासमा गुन्डोगनले गोल गरेक थिए।
सिटीबाट यसैपालि आर्सनल पुगेका गाब्रियल जेसुसले दुई गोल गरेपछि आर्सनलले लेस्टर सिटीलाई सहजै हरायो। जेसुसबाहेक साका र गाब्रिय मार्टिनेलीले पनि आर्सनलका लागि एक–एक गोल गरे। उता पराजित टिम लेस्टरका लागि जेम्स माडिसनले गोल फर्काए। उसले अर्को गोल भने उपहार पाएको थियो। आर्सनलका विलियाम सलिबाले ५५ औँ मिनेटमा आफ्नै पोस्टमा गोल गरेका थिए।
यी दुई खेलपछि सिटी र आर्सनल शीर्ष दुईमा यथावत छन्। दुवैको ६–६ अंक छ। गोल भिन्नतामा अगाडि रहेका कारण सिटी पहिलो स्थानमा छ। सिटीले आफ्नो पहिलो खेलमा वेस्टह्यामलाई २–० ले पन्छाएको थियो। उता आर्सनलले क्रिस्टल प्यालेसमाथि २–० कै जित हात पारेको थियो।
शनिबार नै भएका अन्य खेलमा ब्राइटन र न्युकासल युनाइटेड तथा उल्भरह्याम्पटन र फुलहमले गोलरहित बराबरी खेले। उता साउथह्याम्पटन लिड्स युनाइटेडसँग २–२ को बराबरीमा रोकियो। बराबरीपछि न्युकासल तेस्रो र ब्राइटन पाँचौँ स्थानमा छन्। उता उल्भरह्याम्पटन भने १३ औँ र फुलहम १० औँ स्थानमा छन्।
सेन्ट मेरिज रंगशालामा भएको खेलमा साउथह्याम्पटनले पहिलो र दोस्रो हाफ एक–एक गोल खाएको थियो। लिड्सका लागि दुवै गोल रोड्रिगोले गरेका थिए। घरेलु समर्थकसामु साउथह्याम्पटनलाई खेलमा फर्काउन जोइ आरिबोले ७२ औँ मिनेटमा गोल गरेका थिए। त्यसको नौ मिनेटपछि नै कायल वाल्क पिटर्सले साउथह्याम्पटनको दोस्रो गोल गरे र खेल बराबरीमा पुर्याए।
पहिलो खेल टोटनहमसँग हारेको साउथह्याम्पटन दोस्रो खेलबाट एक अंक बटुलेर १५ औँ स्थानमा छ। लिड्स भने दुई खेलबाट चार अंक बटुल्दै चौथो स्थानमा पुगेको छ।