कर्णाली–सामाजिक विकासमन्त्री यज्ञबहादुर बुढाक्षेत्रीले प्रदेश सरकारले युवाका लागि सीप, क्षमता विकासका विभिन्न कार्यक्रम समावेश गरेको बताएका छन् । राष्ट्रिय युवा परिषद् नेपालद्वारा आज सुर्खेतमा आयोजित ‘कर्णाली युवा संवाद कार्यक्रम’ को उद्घाटन गर्दै उहाँले मन्त्रालयले खेलकुद, श्रम तथा रोजगारीमा जोड्नुका साथै युवा सशक्तीकरणका क्रियाकलाप सञ्चालन गरिरहेको बताए ।
मन्त्री बुढाक्षेत्रीले राजनीतिक क्षेत्रमा युवाको उपस्थिति बढ्न थालेको भन्दै स्थानीय सरकारमा युवा निर्वाचित हुनुलाई युवा सशक्तीकरणका दृष्टिले महत्वपूर्ण उपलब्धि मान्न सकिने बताए ।
प्रदेशसभा सदस्य विमला केसीले युवा मूल उद्देश्यबाट बरालिन नहुने विचार व्यक्त गरिन् । ‘कर्णालीको अशिक्षा र गरिबीविरुद्ध युवापङ्क्ति जाग्नुपर्छ’, उनले भनिन्, ‘युवा श्रममा नजोडिएसम्म प्रदेशको विकास हुँदैन, प्रदेश सरकारले विभिन्न रोजगारीका कार्यक्रम ल्याएको छ, सबैले श्रमको सम्मान गर्नसके प्रदेशको विकासमा मद्दत पुग्दछ ।’ कार्यक्रममा कर्णाली प्रदेश योजना आयोगका पूर्वसदस्य एवं युथ भिजन २०१५ निर्माण कार्यदलका संयोजक योगेन्द्र शाहीले युवा नीति तथा कार्यक्रम कार्यान्वयन सवालसम्बन्धी कार्यपत्र प्रस्तुत गरेका थिए ।
कर्णाली युवा संवादमा कर्णाली प्रदेशसभा सामाजिक विकास समिति अध्यक्ष देवी ओली, हिमा गाउँपालिका जुम्लाका अध्यक्ष लक्ष्मण शाही र परिषद्का कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेत प्यानल वक्ता थिए । समिति अध्यक्ष ओलीले सङ्घीयतालाई सफल बनाउने आधार प्रदेश संरचना भएकाले युवाको भविष्य पनि प्रदेशकै काँधमा रहेको बताए ।
परिषद्का कार्यकारी उपाध्यक्ष बस्नेतले युवा भविष्यको कर्णाधारमात्र नभई वर्तमानको साझेदार एवं अंशियार भएको बताए । त्यस्तै गाउँपालिका अध्यक्ष शाहीले पालिकाले बनाएका ७३ नीतिमध्ये ११ वटा युवासँग सम्बन्धित नीति भएको जानकारी दिए ।
प्रतिनिधित्व सुनिश्चितताको माग
कर्णाली युवा संवादमा राज्यका हरेक निकायमा युवाको प्रतिनिधित्व सुनिश्चित हुनुपर्नेमा जोड दिइएको छ । दैलेखकी कल्पना शाहीले प्रदेशस्तरमा युवा सीप विकास तालिम केन्द्र स्थापना गर्न ढिलाइ गरिएको बताए । कालीकोटकी रक्षा लुहारले महिला तथा किशोरीलाई रोजगारीमा जोड्न स्थानीय तह र पालिकाले आवश्यक नीति तथा कार्यक्रम बनाउन नसकेको गुनासो गरिन् ।
प्रदेश युवा क्लब सञ्जालका प्रदेश संयोजक राजेन्द्र अधिकारीले ३० वर्ष मुनिका युवालाई राजनीतिक दलका स्थानीय, जिल्ला र प्रदेश कमिटीमा कम्तीमा ३० प्रतिशत प्रतिनिधित्व सुनिश्चित हुनेगरी नीति बनाउनुपर्ने सुझाव दिए ।
वाइसिएलका कर्णाली प्रदेश संयोजक गणेश शाहीले स्थानीय तह निर्वाचनमा युवाको प्रतिनिधित्व सन्तोषजनक भए पनि आसन्न सङ्घ र प्रदेशको निर्वाचनमा युवा उम्मेदवारीको सुनिश्चिताका साथै समयमै दबाब सिर्जना गर्नुपर्ने खाँचो औँल्याए । संवादमा दैलेख, जाजरकोट, कालीकोट, जुम्ला र सुर्खेत जिल्लाका युवाको सहभागिता थियो ।